मोबाइल फोन नष्ट : डाटा दुरुपयोग भए कसले लिन्छ जिम्मा ?

1.03k
Shares

हेटौंडा । सिरहा जिल्लामा एसईई र कक्षा–१२ को परीक्षाका क्रममा परीक्षा हलभित्र मोबाइल फोन लिएर प्रवेश गरेका विद्यार्थीहरुबाट जफत गरिएका ४ सय ९६ वटा मोबाइल जिल्ला प्रहरी कार्यालय सिरहाले नष्ट गरेपछि त्यसको तीव्र विरोघ जारी छ ।

परीक्षाको मर्यादा उल्लंघन रोक्न मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको ‘निर्देशन’ अनुसार कारबाही गरिएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको छ । समितिको निर्णयअनुसार पाँच सदस्यीय उपसमितिको समन्वयमा ती मोबाइल तथा स्मार्ट वाचहरुलाई २४ घण्टा पानीमा डुबाएर प्रयोग गर्न नसकिने अवस्थामा पु¥याई नष्ट गरिएको हो । नष्ट गरिएका सामग्रीमा ७ वटा आइफोन, ४ सय ८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्ट वाच छन् । यसको कुल मूल्य करिब एक करोड बढी अनुमान गरिएको छ ।

घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले यसलाई अनुशासन कायम गर्न कडा कदम भनेका छन् भने केहीले नष्ट गर्नुको सट्टा जरिवाना वा अन्य विकल्प अपनाउनुपर्ने धारणा राखेका छन् । आगामी वर्षका परीक्षामा मोबाइल प्रयोग नियन्त्रण अझ कडा हुने संकेत यसबाट देखिएको छ ।

नेपाल मोबाइल व्यवसायी महासंघका महासचिव छतेन्द्र आचार्यका अनुसार त्यसरी मोबाइल नष्ट गर्नु राम्रो हुँदै होइन । ‘परीक्षाको नियमअनुसार मोबाइल लैजानु गलत हो । तर, जफत गरिएका मोबाइल परीक्षा सकिएपछि केही जरिवाना गरेर फिर्ता गर्नुपथ्र्यो’, उहाँले भन्नुभयो, ‘विश्वबजारमा हाल चिपसेटको अभाव छ ।

हाल एआईमा पनि त्यस्ता किसिमका चिपसेटको प्रयोग हुने हुँदा ३५ प्रतिशतसम्म मोबाइल फोनको मूल्य बढेको देखिन्छ । हिजोका दिनमा १६ हजार पर्ने मोबाइलको मूल्य हाल २६ हजार पुगेको अवस्था छ । त्यस आधारमा हेर्ने हो भने करिब ८० लाखको फोन नष्ट भयो । यो राज्यलाई घाटा हो नि त ।’

‘यो अव्यावहारिक हो । यस्तो नीति कहीं–कतै देखिएको छैन । आफन्तको रोहबरमा फिर्ता दिनुपर्ने थियो’, उहाँले भन्नुभयो, ‘देशमा यस्तो आर्थिक संकटका बेला राज्यको पैसा बाहिर गयो । व्यक्तिगत सम्पत्ति यसरी राज्यले नष्ट ग¥यो । यस्तो किसिमका घटना दोहो¥याउनुहुँदैन । यो ठूलो गल्ती हो । नष्ट गरेपछिको विद्युतीय फोहोर व्यवस्थापनमा पनि राज्यलाई ठूलो चुनौती छ । यसले वातावरणमा नै नराम्रो प्रभाव पर्न सक्छ ।’

‘त्यसमा रहेको चिपसेटबाट डाटा रिकभर भएर दुरुपयोग भयो भने त्यसको जिम्मेवारी कसले लिने ?’, महासचिव आचार्यले भन्नुभयो, ‘डाटा दुरुपयोग हुनसक्ने निश्चित हो । यसले एक विद्यार्थीको जिन्दगीमा कहाँसम्मको समस्या पर्न सक्छ भन्ने किन बुझिएन ?’ मोबाइल पूर्णरुपमा नष्ट गरिएको सम्भवतः यो संसारमै पहिलो हो । उक्त घटनाले सुरक्षा निकायको बौद्धिकस्तरमा नै प्रश्न खडा गरेको उहाँको कथन छ ।

‘नेपालले विदेशी मुद्रा तिरेर आयात गरेको करोडभन्दा बढी नेपाली रुपियाँका मोबाइल र स्मार्ट वाच नष्ट गर्नुअघि किन सोचिएन ?,’ उहाँको प्रश्नैप्रश्न छ, ‘परीक्षा हलको प्रवेश द्वारमै किन चेक गरिएन ? हलभित्र मोबाइल लैजान दिने (निरीक्षक÷कर्मचारी) लाई कारबाही गर्ने कि विद्यार्थीको मोबाइल नष्ट गर्ने ?

त्यसो गर्न नसक्ने परीक्षा समितिका पदाधिकारीलाई नसिहत दिने कि विद्यार्थीको मोबाइल पानीमा डुबाइदिने ? केही रकम जरिवाना गरेर मोबाइल फर्काएको भए परीक्षा समिति र स्थानीय सरकारको इज्जत जान्थ्यो ? अर्को पटकदेखि विद्यार्थीले परीक्षा हलमा मोबाइल नलगून् भन्नका लागि नसिहतका थुप्रै विकल्प हुँदाहुँदै यस्तो अप्रिय कार्य किन गरियो ?’
महोत्तरीको परीक्षा समितिले भने जनही २ हजार रुपियाँ राजस्व जम्मा गर्न लगाएर परीक्षा हलमा फेला परेका मोबाइल फोन फिर्ता गरेको छ ।

प्रदेशकी शिक्षामन्त्री तिवारीको अध्यक्षतामा बसेको र प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय एकाई प्रमुखहरुको उपस्थिति रहेको बैठकले परीक्षालाई मर्यादित तुल्याउन मोबाइल फोन परीक्षा केन्द्रभित्र लैजान नपाउने निर्णय गरेको थियो । मोबाइल फोन जफत गरी तत्काल नष्ट गर्ने प्रस्ताव सबै प्रजिअले राखेका थिए ।

बैठकमा यसरी जफत गर्दा नराम्रो सन्देश जान्छ भन्ने कुरा पनि उठेका कारण प्रजिअहरुले यति गरेन भने परीक्षालाई मर्यादित गराउन नसकिने भन्दै यसको जिम्मेवारी आफूहरुले लिने बताए ।

शुरुको दिनमा खोसिएका मोबाइल थन्क्याएर राखियो । त्यसपछिका दिनमा पनि त्यस्तै गर्दै मोबाइल राखियो । केन्द्राध्यक्ष जिम्मेवार हुन सकेनन् र प्रहरीले पनि केन्द्रमा प्रवेश गर्दा खासै चेकजाँच गरेनन् । यसले गर्दा परीक्षा हलभित्र मोबाइल फोन पुग्यो । ती सबै मोबाइल खोसिए । एसईईको नतिजा सार्वजनिक भइसकेपछि बल्ल पानीमा हालेर नष्ट गरियो ।