रास्वपा उदयपुरमा चित्र कार्कीको प्यानल नै विजयी

752
Shares

उदयपुर ।

राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरको प्रथम जिल्ला अधिवेशनबाट चित्रबहादुर कार्की नेतृत्वको प्यानलले अधिकांश पदमा विजय हासिल गरेको छ । जिल्ला सभापति पदका लागि भएको प्रतिस्पर्धामा चित्रबहादुर कार्की र जनक बस्नेत आमनेसामने भएका थिए । खसेको २०४ मतमध्ये कार्कीले ११३ मत प्राप्त गर्दै विजयी भए भने बस्नेत ८१ मतमा सीमित बनेका छन ।

उपसभापतिमा कार्की प्यानलका किरण राउत १०१ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कृष्णकुमारी घिमिरे श्रेष्ठले ८५ मत प्राप्त गरिन् । सचिव पदमा तीनजनाबीच प्रतिस्पर्धा भएको थियो । सूर्यबहादुर लामा ९६ मतसहित विजयी बनेका छन । लामा उदयपुर क्षेत्र नं. २ का संघीय सांसदसमेत हुन् । उनका प्रतिस्पर्धी भुवन खतिवडाले ७५ मत तथा जनार्दन कार्कीले २० मत प्राप्त गरे ।

सह–सचिव पदमा सूर्यकुमार राई १११ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी हुकुममणि पाण्डेले ८२ मत प्राप्त गरे । जिल्ला सदस्य पदमा कौसिला कार्की १३८ मतसहित सर्वाधिक मत ल्याएर विजयी भइन् । त्यसैगरी अम्बरबहादुर तामाङ (१००), गुरुदेव कार्की (९५) र हेमकुमारी चौधरी (९४) विजयी भए ।

अन्य उम्मेदवारहरूमा सुसिला थापाले ९२, बब्लु गुप्ताले ७७, पवित्रा भट्टराईले ७३ तथा सुनिता चौधरीले ६५ मत प्राप्त गरेका थिए ।

जिल्ला सदस्यमा तेजमान बिक र झरना गहतराज निर्विरोध निर्वाचित भएका छन् । क्षेत्र नं. १ (ख) को क्षेत्रीय उपसभापतिमा बाशु थापा र पवन कार्की निर्विरोध निर्वाचित भए । क्षेत्र नम्बर २ को सभापतिमा सामर्थ थापा ५५ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी मीनबहादुर खड्काले १७ मत प्राप्त गरे । क्षेत्र नम्बर २ को उपसभापतिमा दिनेश कार्की ५० मतसहित विजयी भए ।

उनकी प्रतिस्पर्धी पूर्णकुमारी राउतले २३ मत प्राप्त गरिन् । प्रथम जिल्ला अधिवेशनको मतपरिणामले चित्रबहादुर कार्की नेतृत्वको समूहलाई जिल्ला नेतृत्वमा स्पष्ट बहुमत दिलाएको छ । सभापतिदेखि उपसभापति, सचिव, सह–सचिव तथा अधिकांश सदस्य पदमा कार्की प्यानलका उम्मेदवार विजयी भएसँगै उदयपुरमा पार्टीको नयाँ नेतृत्व चयन भएको छ ।