सडकमा हिँड्दै गर्दा कसैले अमिलो कागती काटेर नुन–खुर्सानीसँग चुसिरहेको देख्नेबित्तिकै तपाईंको मुखमा पनि अनायासै थुक आउँछ । सडकमा कोही नचिनेको मान्छे जोडले हाँसेको देख्दा हामी पनि मुस्कुराउँछौँ । हामी बाटोमा हिँड्दै गर्दा कुनै लासलाई घाटतर्फ लगिँदै गरेको दृश्य देख्यौैँ भने हामी कारुणिक हुन्छौं, हामी भावविह्वल हुन्छौं ।
हलमा चलचित्र हेरिरहँदा पर्दाको पात्र रोएको देख्दा तपाईंका आँखा पनि रसाउँछन् । कार्यक्षेत्रमा कुनै सहकर्मी अत्यधिक तनाव वा रिसमा छ भने, ऊसँग केही समय बिताएपछि तपाईंको आफ्नै मुड पनि बिग्रिन थाल्छ । आखिर किन कतै नभनी र केही नभई अरूको भावना हामीभित्र सर्छ ? किन हामी अन्जानमै अरूको शारीरिक हाउभाउ, अनुहारको अभिव्यक्ति र आवाजको उतारचढावलाई नक्कल गर्न पुग्छौं ?
विनाकुनै सम्पर्क वा प्रत्यक्ष संवाद, आखिर कसरी अरूको क्रियाकलाप वा भावना हामीभित्र जस्ताको त्यस्तै सञ्चारित हुन्छ ? भौतिक विज्ञानको दृष्टिकोणबाट हेर्दा यो घटना निश्चित दूरीमा रहेका दुई वस्तुबीच हुने ‘रेजोनन्स’ वा तरंगीय प्रतिध्वनिजस्तै देखिन सक्छ । तर जीवविज्ञान र न्यूरोसाइन्सको दृष्टिले यसको पछाडि मानव मस्तिष्कभित्र सक्रिय एउटा अत्यन्त जटिल र अद्भुत प्रणालीले काम गरिरहेको हुन्छ । चिकित्साविज्ञान र मनोविज्ञानको यो अन्तरसम्बन्धलाई बुझाउने दुई प्रमुख अवधारणा हुन्– ‘मिरर न्यूरोन र इमोसनल कन्टेजियन’ ।
मिरर न्यूरोन ः सहानुभूति पैदा गर्ने जैविक संयन्त्र
सन् १९९० को दशकमा इटालीको युनिभर्सिटी अफ पार्माका वैज्ञानिक जिआकोमो रिजोलाटी र उनको टोलीले मकाक बाँदरको मस्तिष्कमा अध्ययन गर्दा झुक्किएर एउटा अनौठो तथ्य पत्ता लगाए । जब बाँदरले आफैं कुनै वस्तु समात्थ्यो, उसको मस्तिष्कको फ्रन्टल लोब र पेराइटल लोबमा रहेका केही कोषहरू सक्रिय हुन्थे ।
अचम्म त त्यति बेला भयो, जब बाँदर शान्त बसिरहेको थियो, उसले अगाडिको मानिसले वस्तु समातेको मात्र देख्यो । आफूले केही नगरे पनि अरूको क्रियाकलाप देख्दा मात्रै पनि बाँदरको मस्तिष्कका तिनै न्यूरोनहरू त्यसरी नै सक्रिय भए, मानौँ त्यो काम उसले आफैं गरिरहेको छ ।
वैज्ञानिकहरूले यसलाई मिरर न्यूरोन सिस्टम नाम दिए । मानव मस्तिष्कमा यो प्रणाली अझ बढी विकसित र जटिलरूपमा रहेको हुन्छ । हाम्रो मस्तिष्कको प्रिमोटर कोर्टेक्स र इन्फिरियर पेराइटल लोब्युलमा यी न्यूरोनहरू प्रचुर मात्रामा पाइन्छन् ।
जब हामी कसैलाई दुःखमा रोएको, सुखमा हाँसेको वा पीडामा छटपटाएको देख्छौँ, यी मिरर न्यूरोनहरूले त्यो दृश्यलाई हाम्रो मस्तिष्कमा ‘नक्कल’ गरिदिन्छन् । यसले गर्दा हामी अरूको अवस्थालाई केवल बौद्धिकरूपमा बुझ्दैनौँ, त्यसलाई आफ्नै मस्तिष्कमा महसुस गर्छौं । न्यूरोसाइन्सले यसैलाई सहानुभूतिको जैविक जग मानेकोे छ ।
इमोसनल कन्टेजियन ः भावनाको न्यूरोबायोलोजिकल संक्रमण
मिरर न्यूरोनले मस्तिष्कभित्र जुन प्रतिविम्ब तयार पार्छ, त्यसैको बाह्य र सामाजिक प्रकटीकरण हो इमोसनल कन्टेजियन । मनोविज्ञानमा यसलाई एक व्यक्तिको भावनात्मक अवस्था अर्को व्यक्ति वा समूहमा स्वतः प्रसारित हुने प्रक्रियाका रूपमा परिभाषित गरिन्छ । यो प्रक्रिया तीनवटा क्रमिक वैज्ञानिक चरणमा पूरा हुन्छ ः
१. अचेतन नक्कल ः जब हामी कसैको सम्पर्कमा आउँछौँ, हाम्रो मस्तिष्कले उसको अनुहारको मांसपेशीको संकुचन, शारीरिक हाउभाउ र आवाजको टोनलाई मिलिसेकेन्डमै सूक्ष्मरूपमा नक्कल गर्न थाल्छ ।
२. अफेरेन्ट फिडब्याक ः हाम्रो अनुहारका मांसपेशीहरू (जस्तै– हाँस्दा सक्रिय हुने वा चिन्तामा खुम्चिने) ले सोही अनुसारको संकेत मस्तिष्कको लिम्बिक सिस्टममा पठाउँछन् । यो मस्तिष्कको त्यही भाग हो, जसले भावनाहरू नियन्त्रण गर्छ ।
३. भावनात्मक मिलान ः लिम्बिक सिस्टम सक्रिय हुनासाथ मस्तिष्कले सोही भावनासँग सम्बन्धित न्यूरोट्रान्समिटर वा हर्मोनहरू (जस्तै– तनावमा कोर्टिसोल वा खुसीमा डोपामिन र अक्सिटोसिन उत्पादन गर्छ । परिणामस्वरुप, हामी पनि अज्ञातरूपमै अरूकै जस्तो भावनात्मक अवस्थामा पुग्छौँ ।
उदाहरणका लागि, तपाईंले कसैलाई तातो चिया पिएर जिब्रो पोल्दा अनुहार खुम्च्याएको देख्नुभयो भने, तपाईं आफैँले पनि एकछिन् असजिलो महसुस गर्नुहुन्छ । बच्चाले आमाबाबुको बोली, हाँसो, चालढाल नक्कल गर्न सिक्नुको पछाडि पनि यही प्रणालीले ठूलो भूमिका खेल्छ ।
सानो बच्चाले पहिलोपटक भाषा किताबबाट होइन, वरिपरिको अनुहार र आवाज हेरेर सिक्छ । कसैले मुस्कुराउँदा ऊ पनि मुस्कुराउन थाल्छ । यही कारण मानिस सामाजिक प्राणी बनेको हो । यदि मस्तिष्कमा यस्तो ‘प्रतिविम्ब प्रणाली’ नभएको भए, सहानुभूति, प्रेम, मित्रता वा सामूहिक भावना विकास हुन गाह्रो पथ्र्यो ।
भीड किन एकैचोटि भावुक हुन्छ ?
स्टेडियममा राष्ट्रगान बज्दा हजारौँ मानिस एकैसाथ भावुक हुनु, धार्मिक समारोहमा सामूहिक भक्ति जाग्नु वा आन्दोलनका बेला भीड अचानक आक्रोशित बन्नु– यी सबै सामूहिक भावनात्मक सञ्चरणका उदाहरण हुन् । सामाजिक सञ्जालले त यो प्रक्रियालाई अझ तीव्र बनाइदिएको छ । एउटा दुःखद समाचारले केही मिनेटमै लाखौँ मानिसको भावनामा असर गर्न सक्छ ।
त्यस्तै, एउटा प्रेरणादायी भिडियोले विश्वभर सकारात्मक ऊर्जा फैलाउन सक्छ । यदि शिक्षक उत्साह, ऊर्जा र सकारात्मक मनोविज्ञानका साथ कक्षामा प्रवेश गर्छ भने विद्यार्थीहरूको मस्तिष्कमा रहेका मिरर न्यूरोनहरूले त्यसलाई तत्काल ग्रहण गर्छन् ।
फलस्वरुप, पूरै कक्षाको सिकाउने र सिक्ने क्षमतामा वृद्धि हुन्छ । यस विपरीत, यदि नेतृत्वकर्ता वा शिक्षक आफैं कुण्ठा वा तनावमा छ भने, त्यो नकारात्मकता विद्यार्थी वा टोलीमा भाइरसजस्तै सर्छ । त्यसै गरी, घरपरिवारमा अभिभावकको मानसिक अवस्थाले बालबालिकाको मस्तिष्कको विकास र उनीहरूको संवेगात्मक स्थिरतामा सीधा असर पारिरहेको हुन्छ । यही कारण डिजिटल युगमा ‘भावनात्मक वातावरण’ भौतिक दूरीभन्दा धेरै शक्तिशाली बन्दै गएको छ ।
विज्ञानको कसीमा भावनाको सञ्चरण
यो प्रक्रिया कुनै जादु वा अमूर्त कुरा नभएर स्थापित वैज्ञानिक सिद्धान्तहरूमा आधारित छ, जसलाई यसरी बुझ्न सकिन्छ–
रेजोनन्स ः भौतिक विज्ञानको नियमअनुसार, एउटा निश्चित फ्रिक्वेन्सीमा कम्पन भइरहेको वस्तुले आफ्नो नजिकै रहेको अर्को वस्तुलाई पनि सोही आवृत्तिमा कम्पन गराउँछ । हाम्रो मस्तिष्कले पनि विचार र भावनाअनुसार विद्युतीय तरंगहरू पैदा गर्छ । जब हामी कसैको नजिक बस्छौँ, मिरर न्यूरोनले गर्दा हाम्रो मस्तिष्क अरूको भावनाको तरंगसँग ‘रेजोनन्स’ मा आउँछ र सोही मुड कपी गर्छ ।
बायो–इलेक्ट्रिक ऊर्जाको स्थानान्तरण ः थर्मोडायनामिक्सको पहिलो नियमअनुसार ऊर्जा कहिल्यै नष्ट हुँदैन, यो एक माध्यमबाट अर्को माध्यममा सर्छ । भावना भनेको शरीरभित्रको रासायनिक र विद्युतीय ऊर्जा हो । मानिस आक्रोशित वा खुसी हुँदा उसको शरीरबाट उत्सर्जित हुने यो बायो–इलेक्ट्रिक ऊर्जालाई अर्को व्यक्तिको शरीर र ज्ञानेन्द्रियले अवशोषित गर्छन् ।
विद्युत–चुम्बकीय क्षेत्र ः बायोफिजिक्सका अनुसार मानव–मुटु र मस्तिष्कले शरीरको वरिपरि एउटा अदृश्य विद्युत्–चुम्बकीय क्षेत्र निर्माण गर्छन् । जब दुई व्यक्ति नजिक हुन्छन्, यी क्षेत्रहरू एक–आपसमा ओभरल्याप हुन्छन्, जसले गर्दा एकको मुटुको धड्कन र शारीरिक उत्तेजना अर्को व्यक्तिमा स्वतः सञ्चारित हुन पुग्छ ।
डिजिटल युग र मानसिक विचलनको जोखिम
प्राचीन कालमा यो प्रणाली मानव विकासका लागि अत्यावश्यक थियो, जसले समूहमा एक–आपसको भावना बुझ्न ‘ग्लु’ को काम गथ्र्यो । तर आजको डिजिटल युगमा यसको प्रभाव झन् जटिल बनेको छ । अहिले भावनात्मक संक्रमण भौतिक उपस्थितिमा मात्र सीमित छैन, यो सामाजिक सञ्जालका पर्दाहरूबाट तीव्ररूपमा फैलिरहेको छ, जसलाई वैज्ञानिकहरू डिजिटल इमोसनल कन्टेजियन भन्छन् ।
सामाजिक सञ्जालका आक्रोशित भिडियो, नकारात्मक ट्रोलिङ सामूहिक घृणा वा अति सकारात्मक सामग्रीहरूले हाम्रा मिरर न्यूरोनहरूलाई लगातार उत्तेजित बनाइरहेका हुन्छन् । जब लाखौँ मानिस एकैसाथ यस्ता नकारात्मक वा अति सकारात्मक सामग्रीको सम्पर्कमा आउँछन्, यसले समाजमा विनाकारण एकप्रकारको सामूहिक मानसिक विचलन वा मास एन्जाइटी पैदा गरिरहेको हुन सक्छ ।
यसले गर्दा मस्तिष्कको परिवर्तनशीलताको नियमअनुसार मानिसहरू बिस्तारै संवेदनहीन बन्दै गएका छन् । कसैको दुर्घटना हुँदा उद्धार गर्नुको सट्टा भिडियो खिच्न व्यस्त हुने आजको आधुनिक मानव व्यवहार यसै डिजिटल विचलनको एउटा कुरुप दृष्टान्त हो । यदि यो मिरर न्यूरोन प्रणालीमा कुनै समस्या आयो भने मानिसमा ‘अटिजम’ जस्तो मानसिक अवस्था देखिन सक्छ, जहाँ व्यक्तिले अरूको भावना बुझ्न र सामाजिक सम्बन्ध स्थापित गर्न सक्दैन । यसले के प्रमाणित गर्छ भने, हाम्रो सामाजिक जीवन पूर्णरूपमा यी न्यूरोनहरूको स्वस्थ कार्यप्रणालीमा निर्भर छ ।
निष्कर्ष
मानव जाति जैविक र भौतिकरूपमै एक–आपसमा अन्तरसम्बन्धित छ भन्ने कुराको अकाट्य वैज्ञानिक प्रमाण नै मिरर न्यूरोन र इमोसनल कन्टेजियन हो । हाम्रो मस्तिष्क कुनै सुनसान वा एक्लो टापु होइन, यो त समाजको चेतनालाई प्रतिविम्बित गर्ने एउटा सजीव ऐना हो । हामी कस्ता मानिसहरूसँग संगत गर्छौं, कस्तो परिवेशमा सास फेर्छौं र कस्ता डिजिटल दृश्यहरू आँखामा सजाउँछौँ भन्ने कुराले हाम्रो सोच्ने तरिका मात्र होइन, हाम्रो मस्तिष्कको जैविक भूगोललाई नै बदलिरहेको हुन्छ ।
आजको प्राविधिकरूपमा जोडिएको तर संवेगात्मकरूपमा उजाड बन्दै गएको संसारमा यो विज्ञानको बोध झनै अर्थपूर्ण छ । ब्रह्माण्डको एउटा कुनामा बजेको ट्युनिङ फर्क जसरी अर्को कुनामा स्वतः कम्पन हुन्छ, ठ्याक्कै त्यसै गरी हामी प्रत्येक मानव यो सृष्टिमा भावना र ऊर्जाका तरंगहरू फैलाउने ‘ट्रान्समिटर’ र तिनलाई ग्रहण गर्ने ‘रिसिभर’ हौँ ।
त्यसैले, आफ्नो घरको आँगन, कक्षाकोठाको चौघेरा, कार्यक्षेत्रको भित्ता वा डिजिटल सञ्जालका पानाहरूमा रिस, घृणा र कुण्ठाको भाइरस फैलाउने कि प्रेम, समानुभूति, सकारात्मक ऊर्जा र वैज्ञानिक चेतनाको सुन्दर राग अलाप्ने ? यो छनोट अब केवल हाम्रो व्यक्तिगत चाहना मात्र रहेन, बरु पूरै मानव सभ्यताको मानसिक स्वास्थ्यलाई सग्लो राख्ने हाम्रो न्यूरोलोजिकल र सामाजिक जिम्मेवारी दुवै हो । अन्ततः अरूको ओठमा हाँसो देख्दा आफ्नो मनमा खुसीको पालुवा पलाउनु नै मानिस हुनुको सबैभन्दा सुन्दर जैविक उत्सव हो ।
(लेखक अर्याल भौतिकशास्त्री हुनुहुन्छ ।)











प्रतिक्रिया