राेहिणी र सरिनालाई मदरल्याण्डकाे नगदसहितकाे सम्मान


भक्तपुर ।

एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने राेहिणी सिल्पकार र सरिना तामाङलाई मदरल्याण्ड स्कुल भक्तपुरले नगद सहित सम्मान गरेकाे छ ।

सूर्यविनायक नगरपालिका–९, अवस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको हाे । कार्यक्रममा विद्यालयले ४.०० जिपिए प्राप्त गर्ने छात्रा रोहिणी शिल्पकारलाई नगद रु. ५० हजारसहित सम्मान गरेको हो ।

त्यस्तै सरिना तामाङलाई नगद १० हजार सहित सम्मान गरेको हाे । सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालकाे प्रमुख आतिथ्यतामा कार्यक्रममा विद्यालयका प्राचार्य सञ्जय खड्काले विद्यार्थीको उत्कृष्ट नतिजामा विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको साथ समान रूपमा महत्वपूर्ण रहने बताउनुभयो । प्राचार्य खड्काले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कटुवालले रोहिणीलाई सम्मानपत्र प्रदान गर्नुभयो । विद्यालयकी कार्यकारी निर्देशक शर्मिला देउजाले रोहिणीलाई नगद रु. ५० हजार प्रदान गर्नुभयो । यस्तै कार्यकारी निर्देशक देउजाले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा सरिना लामालाई नगद रु. १० हजार नगद पुरस्कार प्रदान गर्नुभयाे । देउजाले सम्मान सहित आगामी शैक्षिक यात्राका लागि शुभकामना दिनुभयो ।

त्यसैगरी, सत्यशक्ति पुस्तक भण्डारका महेश थापा तथा विद्यालयका सह–प्राचार्य राधेश्याम केसीले पनि रोहिणी शिल्पकारलाई रु. ५/५ हजार नगद पुरस्कार प्रदान गर्नुभएको थियो । मदरल्याण्ड स्कुलले यस वर्षको एसईई नतिजालाई विद्यालयको गौरवपूर्ण उपलब्धिका रूपमा लिँदै विद्यार्थीको क्षमता विकास र शैक्षिक उत्कृष्टतामा थप जोड दिने जनाएको छ ।

कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान तथा बिदाइ गरिएको थियो । साथै, विद्यार्थीको सफलताका लागि निरन्तर खटिएका शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ ।