सातै प्रदेशमा वर्षा हुने संकेत


काठमाडौँ ।

नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

यी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यसैबीच, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।