शकिराले सेयर गरिन् नेपाली बालबालिकाको विश्वकप डान्स रिल्स


काठमाडौं ।
विश्वप्रसिद्ध पपस्टार शकिराले फिफा विश्वकप २०२६ को प्रवर्द्धनका लागि सार्वजनिक गरेको आफ्नो चर्चित गीत दाइ दाइमा नेपाली बालबालिकाले तयार पारेको आकर्षक नृत्य भिडियो सामाजिक सञ्जालमार्फत सेयर गरेकी छन्।

शकिराले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत नेपाली बालिका आयुषी ढकालसहितका बालबालिकाले बनाएको रिल्स साझा गरेकी हुन्। उनले विभिन्न देशका बालबालिकाले सोही गीतमा बनाएका अन्य सिर्जनात्मक भिडियोहरू पनि सेयर गरेकी छन्।

विश्वकप फुटबल सुरु हुन केही दिन मात्र बाँकी रहँदा विश्वभर फुटबलको माहोल तातेको छ। नेपालमा पनि विश्वकपप्रति दर्शकहरूको उत्साह बढ्दै गएको छ। यसबीच शकिराको ‘दाइ दाइ’ गीतले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा व्यापक चर्चा बटुलिरहेको छ।

केही साताअघि सार्वजनिक भएको उक्त गीत विश्वकपको माहोल झल्काउने विशेष प्रवर्द्धनात्मक अभियानअन्तर्गत तयार गरिएको हो। गीत सार्वजनिक भएयता विभिन्न देशका समर्थक, कन्टेन्ट क्रिएटर तथा बालबालिकाले यसमा नृत्य भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

यसपटकको फिफा विश्वकपलाई अझ भव्य बनाउन आयोजकहरूले विश्वप्रसिद्ध ब्यान्ड र संगीतकर्मीहरूलाई विभिन्न सांगीतिक कार्यक्रमका लागि अनुबन्ध गरिसकेका छन्। उद्घाटन समारोह, हाफटाइम प्रस्तुति तथा समापन समारोहमा समेत अन्तर्राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने अपेक्षा गरिएको छ।