काठमाडौं ।
बलिउड अभिनेत्री तापसी पन्नुले उद्योगमा महिला कलाकारहरू उमेरका आधारमा विभेदको सामना गर्नुपर्ने अवस्था रहेको बताएकी छन्। हालै एक अन्तर्वार्तामा उनले आफूले समेत यस्तो चुनौती भोगिरहेको खुलासा गरेकी हुन्।
टाइम्स इन्टरटेनमेन्टसँगको कुराकानीमा तापसीले भनिन्, “जबसम्म तपाईंले उद्योगमा आफ्नो पहिचान स्थापित गर्नुहुन्छ, तपाईंको उमेर ३० वर्ष पुगिसकेको हुन्छ। त्यसपछि निर्माताहरूले तपाईं रोमान्टिक कमेडी चलचित्रका लागि पर्याप्त युवा नभएको बताउन थाल्छन्। तर पुरुष कलाकारका हकमा भने यस्तो हुँदैन। उद्योगमा उमेरका आधारमा हुने विभेद ठूलो समस्या हो।”
तापसीले दक्षिण भारतीय चलचित्र उद्योगमा काम गर्दाको अनुभव पनि सुनाइन्। उनका अनुसार वरिष्ठ अभिनेतासँग अभिनय गर्दा युवा अभिनेता उनीसँग काम गर्न इच्छुक हुँदैनथे।उनले भनिन्, “दक्षिण भारतमा पनि मसँग यस्तै व्यवहार हुन्थ्यो। जब मलाई कुनै वरिष्ठ अभिनेताको अपोजिट कास्ट गरिन्थ्यो, युवा कलाकारहरू मसँग काम गर्न चाहँदैनथे।”
यस क्रममा तापसीले बलिउड सुपरस्टार शाहरुख खानको उदाहरण दिँदै महिला र पुरुष कलाकारबीचको दोहोरो मापदण्डबारे प्रश्न उठाइन्।
उनले भनिन्, “शाहरुख खानका बारेमा त तपाईं यस्तो कुरा गर्ने साहस पनि गर्न सक्नुहुन्न।”
तापसीको भनाइले उमेर बढ्दै जाँदा महिला कलाकारको करियरमा असर पर्ने तर पुरुष कलाकारहरू भने लामो समयसम्म रोमान्टिक नायकको भूमिकामा स्वीकार्य रहने वास्तविकता उजागर गरेको छ।
करियरको कुरा गर्दा तापसी हाल विभिन्न परियोजनामा व्यस्त छिन्। हालै प्रदर्शनमा आएको चलचित्र ‘अस्सी’मा उनले एक वकिलको भूमिका निभाएकी छन्। यो चलचित्रले बलात्कारजस्ता गम्भीर अपराधसँग सम्बन्धित सामाजिक बहसलाई केन्द्रमा राखेको छ।
यसका साथै तापसी आगामी दिनमा ‘वो लडकी है कहाँ’ र ‘गान्धारी’ जस्ता चलचित्रहरूमा पनि देखिनेछिन्।
महिला कलाकारहरूले उमेरका कारण भोग्नुपरेको चुनौतीबारे तापसीले खुलेर राखेको धारणा अहिले सामाजिक सञ्जाल र मनोरञ्जन क्षेत्रमा व्यापक चर्चा भइरहेको छ।











प्रतिक्रिया