काठमाडौं।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर सरकारलाई बुझाएको छ।
शाखाको आयोजनामा सोमबार प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीमार्फत सरकारलाई हस्ताक्षर बुझाइएको हो। महासङ्घले जेठ ७ गते सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानअन्तर्गत सङ्कलित हस्ताक्षर सरकारसमक्ष पेश गरिएको जनाएको छ।
हस्ताक्षर बुझाउने कार्यक्रममा शाखाका अध्यक्ष डिपी अधिकारी, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्कालगायतको सहभागिता रहेको थियो।

महासङ्घले सरकारी निर्णयको विरोधमा थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ। जसअनुसार शाखाको आयोजनामा जेठ २७ र २९ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना कार्यक्रम रहेको छ।
महासङ्घले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको दिगोपनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितताका लागि नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोकले संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।











प्रतिक्रिया