वास्तवमा तपाईंलाई शान्तिको तिर्खा लागेको छ

470
Shares

सबैभन्दा ठूलो कुरा के हो भने, जीवनमा तपाईंलाई आनन्द, शान्ति प्राप्त हुन सकोस् । सोच–विचार गर्ने अवसर मिल्न सकोस् ।

हाम्रो जीवनमा आइलाग्ने विघ्न–बाधाहरूलाई हामीले कुनै न कुनै रूपमा सामना गर्न सक्नुपर्छ । यो मानिसका लागि अत्यन्तै आवश्यक कुरा हो । हामी रामायण तथा महाभारतको कथा पनि सुन्छौँ । ती कथामा मानिसले कुनै न कुनै तरिकाले कैयन् बाधा–व्यवधानहरूलाई सामना गर्नुपरेका थुप्रै प्रसङ्गहरू उल्लेख भएका छन् ।

जसले तिनलाई सामना गरे, जो विजयी भए तिनैले आफ्नो जीवनमा आनन्दको महसुस गर्न पाए । त्यो शान्ति र आनन्द महसुस गरे ।अब कुरा के हो भने, हाम्रो जीवनमा यदि अलिकति पनि कुनै दुःख महसुस भयो भने हामीले आफ्नो धैर्यताको बाँधलाई तोडिदिन्छौँ । आफ्नो आनन्दलाई भुलिदिन्छौँ । ‘मलाई के हुने हो’ भन्ने भय हामीलाई भइरहन्छ । मानिसमा जुन शक्ति र सक्षमता हुनुपर्ने हो, जसको कारणले कुनै पनि समस्यालाई समाधान गर्न सकिन्छ, त्यस्तो बेलामा त्यो शक्ति र सक्षमता पनि कार्य गर्न अक्षम हुन्छन् ।

मानिसहरू कपोलकल्पित कुरामा विश्वास गर्छन् । यसकारण वास्तविकतालाई भुल्छन् । जुन वास्तविकताका बारेमा म कुरा गरिरहेको छु, त्यसलाई बुझ्ने कोशिश गर्नुहोस् । म तपाईंले विश्वास गर्नुपर्ने विषयका बारेमा कुरा गर्न चाहन्न । म त तपाईंसँग भएको वर्तमान समयका बारेमा कुरा गरिरहेको छु । त्यो के हो भने, यो श्वास आइरहेको छ अनि गइरहेको छ । तपाईंको जन्म भयो, फलस्वरूप तपाईं यो पृथ्वीमा हुनुहुन्छ । यो पृथ्वीमा तपाईं आउनुभएदेखि नै तपाईंले दुःख पनि झेल्नुपरेको छ अनि सुख पनि प्राप्त भएको छ ।

तपाईंले घृणा पनि सहनुपरेको छ अनि तपाईंलाई माया पनि प्राप्त भएको छ । तपाईंसँग सपना छ तर त्यो सपना पनि तपाईंको होइन । यो दुनियाँको सपना हो । यो दुनियाँले तपाईंलाई तपाईंको सपना यस्तो हुनुपर्छ भनेर बताइदिन्छ । कोही नेता बन्ने सपना देख्छन् । कोही ठूलो जागिरको सपना देख्छन् । कोही बालबच्चाको सपना देख्छन् । ती सबै सपना नै हुन् । अनि, सपना देखिरहेका छन् । सपनालाई साकार पार्न मानिस कटिबद्ध भएको छ । उसलाई त आफ्नो जीवनमा त्यो सपना पूरा होओस् भन्ने चाहनाले लखेटिरहन्छ । सबैजना आफ्ना सपना पूरा गर्ने चक्करमा घुमिरहेका छन् ।

सपना देख्नका लागि आफ्नो आँखालाई बन्द गर्नुपर्छ । जब तपाईं सुत्नुहुन्छ, तब न सपना देख्नुहुने हो । यो कुनै विश्वास गर्नुपर्ने विषयको कुरा पनि होइन । के तपाईं आफ्नो जीवनमा त्यो सपनालाई साकार पार्न चाहनुहुन्छ या त्यो कुरालाई पूरा गर्न चाहनुहुन्छ, जुन चीजको वास्तवमा तपाईंलाई तिर्खा लागेको छ ?

सबैभन्दा पहिलो त आफ्नो जीवनमा त्यो प्यासलाई खोज्नु आवश्यक छ, त्यो प्यास शान्तिको प्यास हो । त्यो शान्तिको प्यास सामान्य तिर्खा होइन । त्यो पानीका लागि लाग्ने तिर्खाजस्तो पनि होइन । शान्तिको तिर्खा त एउटा आवश्यकता हो । जबसम्म मानिसले त्यो चीजलाई प्राप्त गर्दैन, तबसम्म उसले आफ्नो जीवनमा अधुरोपनको महसुस गर्नेछ । अनि, जबसम्म उसले अधुरोपनको महसुस गरिरहन्छ, तबसम्म त्यो अधुरोपनको निवारणार्थ मानिस कोशिश गरिरहन्छ ।

उसलाई अधुरोपन महसुस भइन्जेलसम्म ऊ अपुरो हुन्छ तथापि एउटा चीजलाई उसले चिन्न सक्छ । पहिचान गर्न सक्छ । जबसम्म उसले त्यसलाई चिन्दैन, पहिचान गर्दैन तबसम्म उसले अधुरोपनको महसुस गर्दछ तर उसको चाहना भने अधुरोपनको महसुस गर्नुचाहिँ होइन ।

मानिसले महसुस गरिरहेको अधुरोपनलाई उसले कसरी पूरा गर्न सक्छ ? वास्तवमा मानिसले सपना देखिरह्यो अनि ऊ सपनालाई साकार पार्ने चक्करमा फसिरह्यो ! मानिसले आफ्नो जीवनमा चाहे जतिसुकै सपनालाई साकार पारे पनि जबसम्म त्यो वास्तविक चीजसँग सम्बन्ध गाँस्दैन, तबसम्म त्यो अधुरोपन समाप्त हुँदैन । अधुरोपनलाई महसुस गर्नु नपरोस् भनेर सपनालाई पूरा गर्ने प्रयासका कारणले गर्दा मानिसमा एउटा बानीको विकास भएको छ ।
अनि, यो अधुरोपन कसरी पूरा हुन्छ त ? यसका लागि म एउटा उदाहरण दिन चाहन्छु । तपाईंको जुत्तामा एउटा ढुङ्गा पस्यो । तपाईंलाई हिँड्नका लागि गाह्रो भइरहेको छ । तपाईंलाई हिँड्न गाह्रो भइरहेको कारणले गर्दा तपाईं डाक्टरकहाँ जानुहुन्छ । डाक्टर भन्छन्, ‘बिराम के हो ?’

तपाईं भन्नुहुन्छ, ‘जब म हिँड्न शुरु गर्छु, मेरो खुट्टामा बिझाउन थाल्छ ।’ अनि, डाक्टर भन्छन्, ‘ठीक छ, यो ट्याबलेट खानुहोस् । यो बिझाउने समस्यालाई कम गर्ने औषधि हो । दुखाइका लागि यो ट्याबलेट खानुहोस् । तपाईंको दुखाइ हट्छ ।’

औषधि सेवन गरेपछि त्यसबाट केही फाइदा त भयो नै होला तर हिँड्न शुरु गरेपछि पुनः दुख्न थाल्छ । कसैले भन्छन्, ‘यसो गर, त्यसो गर अनि पीडा निवारण हुन्छ ।’ तथापि, कसैले पनि ‘आफ्नो जुत्ता खोलेर त्यो ढुङ्गोलाई फाल’ भनेर सल्लाह दिँदैनन् । जसले तपाईंलाई यो सल्लाह दिन्छन् नि, उनी मात्रै सक्कली हुन् । तपाईंलाई तिनैको आवश्यकता छ ।

यदि कुनै विपन्न मानिस घरमा छन् अनि पानी परिरहेको छ । उनको छानोबाट पानी चुहिरहेको छ । उनले ‘यो पानी नै नपरोस्’ भनेर चाहना राखे पनि समस्याको हल त्यो त होइन । पानी नपरोस् भनेर तपाईंले अवश्य पनि इच्छा प्रकट गर्न सक्नुहुन्छ । र पनि, पानी त पर्छ नै, आँधीबेहरी त आउँछ नै । रात पनि पर्छ । दिन पनि हुन्छ अनि सूर्योदय पनि हुन्छ । सूर्य अस्ताउँछ पनि । यी सबै कुरा हुन्छन् । यो त वास्तविकता हो । तपाईं चाहनुहोस् या नचाहनुहोस्, त्यस कुराले केही पनि फरक पर्दैन । तर, तपाईं इच्छाहरूलाई बढाइरहनुहुनेछ– ‘मलाई यो चाहिएको छ । मलाई यो चाहिएको छ ।’ त्यसपछि बिस्तारै–बिस्तारै तपाईंको आफ्नो संसार निर्माण हुन थाल्छ ।

मेरो भनाइको अर्थ के हो भने, मानिस कुन हदसम्म पुगेर विश्वास गर्न तयार हुन्छ त ! आफ्नो सपनालाई साकार पार्नका लागि ‘म यसो गर्नेछु । यसो गरेँ भने यसो हुनेछ ।’ न त भ्रमित तुल्याउनेहरूको कमी छ, न त भ्रमित हुनेहरूको नै कमी छ । यदि भ्रमित हुनेहरू नै नभएका भए त भ्रमित गराउनेहरूले कसलाई पो भ्रमित बनाउँथे होलान् र !

ती सृष्टिकर्ता तपाईंभित्र बसेका छन् । उनी आनन्दका सागर हुन् । उनी ज्ञानका खानी हुन् । तिनमा स्पष्टता हुन्छ । अनि, त्यो शक्ति तपाईंभित्र छ । उनी साक्षात् छन् । जब तपाईंले उनलाई स्वीकार गर्नुहुन्छ, तब तपाईंलाई जुन चीजको आवश्यकता परेको छ त्यो अधुरोपनको अन्त्य हुन सक्छ । यो सोच्नुपर्ने कुरा हो । वास्तवमा हामी जे–जे पढ्छौँ, लेख्छौँ, सिक्छौँ तर हामी के बुझ्छौँ त ! कसैले हामीलाई भन्छन्– ‘यसो गर, त्यसो गर ।’ हामी त्यसै गर्न तयार हुन्छौँ । तर बुझेर गरिरहेका हुन्छौँ या कसैले भनेका कारणले गरिरहेका हुन्छौँ ?

जुन हृदयमा वास्तविक तिर्खा लागेको छ, त्यसलाई बुझ्नका लागि कोही पनि तयार छैनन् । सबै आ–आफ्ना समस्याका पछि लागेका छन् । समस्या त आखिर समस्या नै हो । अनि, यसको समाधान पनि तपाईंभित्रै हुन्छ । यसको हल के हो भने, तपाईं आफ्नो जीवनमा ती साक्षात् चीजलाई स्वीकार गर्नुहोस् । स्वर्गको अनुभव मरेपछि होइन, जीवित हुँदै गर्नुहोस् । किनकि, त्यो स्वर्ग तपाईंभित्र छ । नर्क पनि तपाईंभित्रै छ । नर्कलाई त तपाईंले खोजिसक्नुभएको छ । कसरी आपूmले आपैmँलाई दुःखी तुल्याउने, कसरी आपूmले आपूmलाई बेचैन बनाउने– यी कुरा त हामीले राम्रैसँग सिकेका छौँ ।

त्यो स्वर्गलाई तपाईं आफ्नो जीवनमा महसुस गर्न चाहनुहुन्छ कि चाहनुहुन्न ? गर्न चाहनुहुन्छ भने त्यो पनि सम्भव छ, किनभने त्यो तपाईंभित्रै छ । तपाईंभित्र प्रकाश छ भन्ने कुरा सुनेपछि मानिसहरू के सोच्छन् भने, भित्रको प्रकाश दियोको प्रकाशजस्तै होला । तथापि, तपाईंभित्र भएको प्रकाश न त सूर्यको प्रकाश हो, न त चन्द्रमाको प्रकाश हो । त्यो न त आगोको प्रकाश हो । त्यो त स्पष्टताको प्रकाश हो । त्यो आनन्दको प्रकाश हो । यदि तपाईंले त्यो प्रकाशलाई चिन्न चाहनुभयो भने म तपाईंलाई मद्दत गर्न सक्छु । फलतः तपाईंले पनि आफ्नो जीवनलाई सफल पार्न सक्नुहोस् । अनि, सफलताबाट प्राप्त हुने वास्तविक आनन्दलाई आफ्नो जीवनमा महसुस गर्न सक्नुहोस् ।

कोही शारीरिक रूपले निकै सक्षम र बलिया हुन्छन् । यद्यपि यो सधैँ रहिरहँदैन । उमेर ढल्कँदै गएपछि सबैथोक अहिले भएजस्तै त्यतिखेर हँुदैन । मानिसको वास्तविक क्षमता के हो त ? एउटा यस्तो क्षमता छ, जुन सबैभित्र छ, चाहे ऊ गरिब होस् या धनी । हामीले प्रयोग नै नगरेको त्यो क्षमता के हो ? त्यो क्षमता हो– आपूmले आपैmँलाई चिन्ने अनि वास्तविकतालाई अपनाउने ।

हामी जीवित भएसम्म निराश हुन आवश्यक छैन । यो हो हाम्रो वास्तविक सामथ्र्य ! यो मानिसको साँचो क्षमता हो– आपूmले आपैmँलाई चिन्नु, आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण बनाउनु ।

‘मेरा बारेमा अरूले के सोचिरहेका छन्’ भनेर मानिसले सोच्नुहुँदैन । यदि तपाईं जीवनमा कुनै कारणले असफल हुनुभयो भने पनि त्यो असफलतालाई कहिल्यै स्वीकार नगर्नुहोस् । पहिला पनि तपाईंले यस्तो गर्नुभएको छ । बाल्यावस्थामा तातेताते गर्दै हिँड्न सिकिरहेको समयमा कैयौँपटक तपाईंले उठ्ने कोशिश गर्नुभयो तर फेरि लड्नुभयो । हिँड्न नसिकेसम्म तपाईंले हारलाई स्वीकार गर्नुभएन ।

परिणामस्वरुप तपाईंले हिँड्न सिक्नुभयो ।हामीभित्र श्वास आइरहेको कारणले नै हामीसँग यो सामथ्र्य छ । अर्थात्, हामी जीवित छौँ । यो कुनै सानोतिनो कुरा होइन । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जीवित भएकै कारणले मानिससँग यो क्षमता छ । तपाईंलाई यो वास्तविकता अवगत भएपछि तपाईं कति शक्तिशाली हुनुहुन्छ भन्ने कुरा बझ्नुहुनेछ ।

सृष्टिकर्ताले उपहारका रूपमा दिएका तपाईंको वास्तविक क्षमता के हो ? कुरा के मात्र हो भने, हामीले आफ्नो जीवनमा त्यसलाई स्वीकार गरिरहेका छौँ या छैनौँ ? यदि स्वीकार ग¥यौँ भने त्यो क्षमता हामीबाट टाढा छैन ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण :डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)