इलाम । जलवायु परिवर्तनका असर अब विश्वस्तरमा मात्र सीमित नरही स्थानीय तहसम्म प्रत्यक्ष देखिन थालेपछि इलाम नगरपालिका विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा निर्माणमा जुटेको छ । पानीका मुहान सुक्ने, बाढी–पहिरोको जोखिम बढ्ने तथा कृषि उत्पादनमा असर पर्ने चुनौतीबीच स्थानीय जोखिम न्यूनीकरण र समुदायलाई उत्थानशील बनाउने उद्देश्यले योजना निर्माण प्रक्रिया अघि बढाइएको हो ।
सहयात्रा नेपालको आयोजना तथा इलाम नगरपालिका र प्रकृति रिसोर्सेस सेन्टर काठमाडौंको सहयोगमा आयोजित स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा योजना तर्जुमा गोष्ठीमा विज्ञ, जनप्रतिनिधि तथा सरोकारवालाहरूले जलवायु संकट अब स्थानीय चुनौतीका रूपमा देखिन थालेको बताएका छन् ।
गोष्ठीमा इलाम नगरपालिकाका वातावरण अधिकृत रिसभ न्यौपानेले गत असोज १८ गते इलाममा आएको ठूलो विपद्पछि नगरले भोग्नुपरेको अवस्था तथा त्यसपछिका प्रयासबारे तथ्यांकसहित प्रस्तुति दिनुभएको थियो । उहाँले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका क्षेत्रमा नगरपालिकाले विभिन्न पहल गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै गएको, बाढी–पहिरोको जोखिम बढेको तथा कृषि र जैविक विविधतिमा प्रत्यक्ष असर देखिन थालेको विषय उठाइएको थियो । इलाम नगरपालिकाले वातावरण, पर्यटन तथा संस्कृतिको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । नगरपालिकाले विपद् व्यवस्थापन ऐन, कोष परिचालन कार्यविधि तथा आपतकालीन योजना तयार गरिसकेको समेत जानकारी दिएको छ ।
इलाम नगरपालिकाका मेयर केदार थापाले विपद् व्यवस्थापनमा सुरक्षा निकायसहित सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै नगरले विपद् प्रतिकार्य योजनालाई थप प्रभावकारी बनाउँदै लगेको उल्लेख गर्नुभयो । त्यस्तै, जलवायु अनुकूलन अभ्यासकर्ता सोहन श्रेष्ठले समुदायलाई विपद्प्रति उत्थानशील बनाउने उपाय, जोखिम तथा क्षति न्यूनीकरणका रणनीति र सन् २०३० सम्मका सम्भावित जलवायु जोखिमबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष हेमकुमारी (गंगा) शिवाले स्थानीय सरकारसँग सहकार्य गर्दै समुदायको उत्थानशील क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाउनुभयो । सहभागीहरूले स्थानीय तथ्यांक र जोखिम विश्लेषणका आधारमा व्यावहारिक तथा कार्यान्वयनमुखी योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
१ सय ७२ दशमलव ६७ वर्गकिलोमिटर क्षेत्रफल रहेको इलाम नगरपालिकामा १२ वटा वडा रहेका छन् । नगरको जनसंख्या ५० हजारभन्दा बढी रहेको छ । नगर क्षेत्रको आधाभन्दा बढी भूभाग वन क्षेत्रले ओगटेको छ । यहाँको ठूलो हिस्सा कृषि प्रयोजनमा प्रयोग हुँदै आएको छ । प्राकृतिक स्रोतमा धनी इलाम जलवायु परिवर्तनको जोखिमप्रति संवेदनशील बन्दै जाँदा स्थानीय तहको पूर्वतयारी र दीर्घकालीन योजना निर्माणलाई थप महत्वपूर्ण रूपमा हेरिएको छ ।











प्रतिक्रिया