विकास भनेको के हो ?

470
Shares

केही समयअघि मैले फेसबुकमा एउटा सामान्य तर निकै गहिरो प्रश्न सोधेको थिएँ । विकास भनेको के हो ? त्यो एउटै प्रश्नले मेरो फेसबुकको भित्तामा अनेकौं रङ्गहरू छताछुल्ल पारिदियो । कसैले रमाइलो गर्दै भने– विकास त मेरो साथीको नाम हो । कसैले अलि आक्रोशित हुँदै लेखे– विकास भनेको त मेरो पैसा खाएर भाग्ने फटाहा मान्छे हो । कसैले भने– जहाँ विनाश छैन, त्यही विकास हो । अनि कसैले वर्तमानको तीतो यथार्थ पोख्दै लेखे– सडक चौडा गर्ने, भ्यु–टावर बनाउने अनि कमिसन र घुस खाने खेल नै नेपालको विकास हो ।

ती कमेन्टहरू पढ्दै गर्दा हाँसो पनि उठ्यो, अनि मन कता–कता अमिलो पनि भयो । वास्तवमा विकास त एउटा प्रक्रिया पो हो । एउटा भर्खरै जन्मिएको बच्चा बिस्तारै ताते–ताते गर्दै हिँड्न सिक्छ, त्यो उसको शारीरिक विकास हो । उसले संसार बुझ्छ, भाषा सिक्छ, जीवन जिउने कला र ज्ञान आर्जन गर्छ, त्यो मानसिक विकास हो । त्यही ज्ञानलाई प्रयोग गरेर आर्थिक रूपमा सबल बन्छ, त्यो आर्थिक विकास हो । यसरी नै एक–एक व्यक्ति बदलिँदै, समाज बदलिँदै जाँदा समग्र देशको विकास हुनुपर्ने हो ।

तर आजभोलि हाम्रो समाज र देशमा विकासको जुन रूप देखिँदै छ, त्यसले मलाई गम्भीर र भावुक बनाउँछ । अचेल त विकासको परिभाषा नै बदलिएछ । आफ्नो मौलिक पहिचान, आफ्नो संस्कृति, भाषा र रहनसहनलाई चटक्कै बिर्सेर अरूको अन्धो अनुकरण गर्नुलाई विकास भन्न थालिएछ । आफ्नो घरको पिँढीमा बसेर गुन्द्री बुन्नु पिछडिएको रे ! अनि विदेशी ब्रान्डका महँगा कपडा लगाएर आफ्नै भाषा बोल्न लजाउनुचाहिँ विकास रे ! कस्तो विडम्बना ? मैले एकदिन मेरो साथीलाई पसलमा सामान किन्दै गर्दा हाम्रै देशकै प्रोडक्ट प्रयोग गरौं, विदेशी प्रोडक्टलाई प्रोत्साहन नदिऊँ भन्दा साथीले मेरो कुरालाई खासै ध्यान नदिई विदेशी प्रोडक्ट नै किने । के भन्नु ?

एकजना संगीतकारले आफूले नयाँ धुन बनाउनु विकास भनिन्छ । अर्काले बनाइसकेको संगीतमा आफ्नो नाम राख्दैमा त्यसलाई विकास भनिदैन भनेझैँ कुनै दोस्रो मुलुकको नक्कल गर्दैमा त्यसलाई विकास भनिदैन र मान्नु पनि हुँदैन ।
अनि हाम्रा आदरणीय नेताज्यूहरू ! उहाँहरूको विकास त भाषणका पानाहरूमा मात्रै सीमित छ । मञ्चमा उभिएर घाँटीका नसा फुलाई–फुलाई भन्नुहुन्छ– यो देशलाई यो देशजस्तै बनाउँछु, त्यो देशजस्तो बनाउँछु ।

नमस्कार छ तपाईंको त्यो राष्ट्रघाती कल्पनालाई ! हामीलाई नेपाललाई अरु कुनै देश बनाउनु छैन । नेपाललाई नेपाल नै रहन दिनुस् । आफ्नो देशको प्राकृतिक सुन्दरता, नदीनाला र सांस्कृतिक धरोहरलाई भत्काएर, विदेशीको ऋणको भारी बोकाएर, कङ्क्रिटको जङ्गल खडा गर्नु कस्तो विकास हो ? अरु कुनै देशको नक्कल गर्ने चक्करमा कतै हामीले आफ्नो मौलिक पहिचान नै मेट्दै त छैनौँ ?

हाम्रा नेताहरूको विकास त गजबको छ । बजेट भाषणमा डिजिटल नेपाल र पानीजहाजका सपना छन्, तर वर्षायाम लाग्नेबित्तिकै भचाः तगी (स्वयम्भू भगवान् पाउबाट वनस्थली जाने बाटोको बीचमा) बाट मान्छे बगाउँछ र चोभारमा मृत भेटिन्छ । जनताले सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने देशमा, डाँडाकाँडामा अर्बौंका भ्यु–टावर ठड्याउनु नै विकास हो भने, मलाई र हामीलाई यस्तो विकास चाहिँदैन ।

वास्तविक विकास त आफ्नो धरातल र मौलिकताको जगमा उभिएर मानिसको चेतना, शिक्षा र जीवनस्तरमा आउने सकारात्मक परिवर्तन पो हो । आफ्नो पुर्खाको नासो र पहिचानलाई तिलाञ्जलि दिएर अरूको जस्तो बन्न खोज्नु विकास होइन, त्यो त मानसिक दासता मात्र हो ।
– हाम्रो देशको एक आम्दानीको स्रोत भनेको पर्यटन हो, अनि त्यही पर्यटककै देशको जस्तै संरचना बनाएर उनीहरुलाई देखाउने ?
– पुरानो सरकारले नबुझेका कुरा या भनौँ गर्न नसकेका कुरा के अब यो नयाँ सरकारले गर्ला ?
– सोचाँै त, हामी कता जाँदै छाँै ? विकासको नाममा कतै हामीले आफ्नो अस्तित्व नै त गुमाउँदै छैनौँ ?