काठमाडौं ।
काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
लागू कानुनविपरीत विदेशी नागरिकहरू संगठित रूपमा साइबर ठगी तथा ब्ल्याकमेलिङ गतिविधिमा संलग्न रहेको गोप्य सूचनाका आधारमा प्रहरीले गरेको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित एक होटलको चौथो, पाँचौं र छैटौं तल्लामा कोठा भाडामा लिएर बसेका ती विदेशी नागरिकहरू अवैध गतिविधिमा संलग्न रहेको फेला परेको थियो।
अनुसन्धानका क्रममा उनीहरूले विदेशी महिला मोडल तथा युवतीहरूको तस्बिर प्रयोग गरी नक्कली (फेक) फेसबुक अकाउन्ट सञ्चालन गर्ने, सामाजिक सञ्जालमार्फत विशेष गरी बंगलादेशी र भारतीय नागरिकहरूसँग मित्रता गाँस्ने, व्यक्तिगत तथा संवेदनशील सामग्री संकलन गर्ने र त्यसपछि ब्ल्याकमेल गरी रकम असुल्ने प्रयास गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकामध्ये अधिकांशको उमेर १९ देखि ३० वर्षबीच रहेको जनाएको छ। उनीहरू सबै भिजिट भिसामा नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर नेपाल बसाइँका क्रममा उनीहरूले भिसाको उद्देश्यविपरीत संगठित रूपमा साइबर अपराधजन्य गतिविधि सञ्चालन गरेको आशंका गरिएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरू बंगलादेशका विभिन्न जिल्ला तथा प्रान्तका नागरिक हुन्। उनीहरू लामो समयदेखि काठमाडौंमा बसेर सामाजिक सञ्जालमार्फत लक्षित व्यक्तिहरूसँग सम्पर्क विस्तार गर्ने, भावनात्मक सम्बन्ध स्थापित गर्ने र पछि धम्की तथा दबाबमार्फत रकम माग्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पक्राउ परेका १५ जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको छ। उनीहरूमाथि अध्यागमन ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले पछिल्लो समय नेपाललाई ट्रान्जिट तथा सञ्चालन केन्द्र बनाएर विदेशी नागरिकहरू साइबर अपराध, अनलाइन ठगी, डिजिटल ब्ल्याकमेलिङ तथा संगठित अपराधमा संलग्न हुने क्रम बढ्दै गएको भन्दै निगरानी कडा पारिएको जनाएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरी गरिने यस्ता ‘हनी ट्र्याप’ तथा साइबर ठगीका घटनाले अन्तरदेशीय अपराधको रूप लिन थालेकाले सम्बन्धित निकायबीच समन्वय गरेर अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीले विदेशी नागरिकलाई लक्षित गरेर सञ्चालन गरिने अनलाइन ठगी, ब्ल्याकमेलिङ तथा साइबर अपराधका घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने जनाएको छ।











प्रतिक्रिया