नेपालभाषाको ऐतिहासिक शब्दभण्डार सार्वजनिक, भाषिक सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान


काठमाडौं।

संस्कृतिविद् तथा अनुसन्धानकर्ता छत्रबहादुर कायस्थद्वारा लामो अध्ययन, अनुसन्धान र अथक मेहनतबाट तयार पारिएको नेपालभाषाको शब्दकोष ‘नेपाल भाषा पुलांगु खँग्व धुकू (नेपाल भाषा पुरानो शब्द भण्डार)’ सार्वजनिक गरिएको छ।

उक्त कृति स्यस्यः समाज यलले प्रकाशन गरेको हो। पुस्तकमा नेपालभाषाका शब्दहरूको अर्थ मात्र नभई ती शब्द इतिहासमा कहिलेदेखि प्रयोगमा आएका हुन् भन्ने महत्वपूर्ण विवरणसमेत समेटिएको छ। यसले नेपालभाषाको विकासक्रम र भाषिक इतिहास बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

समाजका अनुसार पुस्तक प्रकाशनका लागि रामलाल श्रेष्ठले विशेष सहयोग गर्नुभएको हो। पुस्तकमा नेपालभाषामा प्रचलित शब्दहरूका साथै विगतमा व्यापक प्रयोगमा रहेर हाल प्रयोगबाट लोप हुँदै गएका हजारौं शब्दहरू संकलन गरिएका छन्। यसले पुराना शब्दहरूको संरक्षण गर्दै भावी पुस्तासम्म भाषिक सम्पदा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

लेखक कायस्थका अनुसार भाषा र साहित्य कुनै पनि सभ्यताको परिचायक मात्र नभई राष्ट्रको अमूल्य सम्पत्ति पनि हुन्। उहाँले भाषा संरक्षण र संवद्र्धनका लागि सबै पक्षले निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “भाषा र साहित्य सभ्यताको ऐना हुन्। यो राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण र संवद्र्धनमा सबैको चासो र योगदान आवश्यक छ।”

कार्यक्रममा स्यस्यः समाजका अध्यक्ष नवीनमंगल जोशीले ८४ वर्षीय कायस्थको गहन अनुसन्धान र समर्पणबाट तयार भएको यो कृति नेपालभाषा संरक्षणका लागि कोशेढुंगा सावित हुने बताउनुभयो। उहाँले पुस्तकले नेपालभाषाको ऐतिहासिक शब्दसम्पदालाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी भाषा जोगाउने अभियानमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित यो कृतिलाई नेपालभाषा अध्ययन–अनुसन्धानका लागि एक महत्वपूर्ण सन्दर्भग्रन्थका रूपमा हेरिएको छ।