डोजरको त्रासले हृदयघात : महोत्तरीका विनोद साहको मृत्युबारे संसदमा सरकारको ध्यानाकर्षण


काठमाडौं ।

प्रतिनिधिसभा सदस्य रेखाकुमारी यादवले महोत्तरीको गौशाला नगरपालिका–५ मा बस्ती हटाउने नाममा दिइएको डोजरको त्रासका कारण एक स्थानीयवासीको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंगलबार (जेठ १२) प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले लगातार घर भत्काइने, बस्तीमा डोजर चलाइने सूचना फैलाइएपछि स्थानीय ६२ वर्षीय विनोद साह तनावमा परेर हृदयघातको शिकार भएको बताइन् ।

उनका अनुसार डोजर चल्ने हल्ला र प्रशासनिक दबाबका कारण साह गम्भीर मानसिक तनावमा पुगेका थिए । उपचारका क्रममा उनको निधन भएको सांसद यादवले संसदमा जानकारी दिइन् ।

यादवले भूमिहीन, सुकुम्बासी र गरिब नागरिकमाथि मानवीय संवेदनाविपरीत व्यवहार भइरहेको आरोप लगाउँदै बस्ती हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरिन् । उनले नागरिकलाई त्रसित बनाएर विकासको नाममा अमानवीय गतिविधि गर्न नहुने बताइन् ।

घटनाबारे सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई राहत तथा न्यायको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरेकी छन् ।