प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सम्पन्न, त्रिभुवन आर्मी क्लब च्याम्पियन


काठमाडौं ।

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघ को प्राविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३’ को चौथो संस्करण सोमबार सम्पन्न भएको छ।

जङ्गी अड्डामा आयोजित समापन समारोहमा अशोक राज सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगितामा च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबलाई ट्रफी प्रदान गरिएको थियो भने पुरुष एकलतर्फ प्रदिप खड्का र महिला एकलतर्फ सिभाली गुरुङ विजेता बनेका छन्। विजेता खेलाडीहरूलाई ट्रफी तथा प्रमाण–पत्र वितरण गरिएको नेपाली सेनाले जनाएको छ।

गत जेठ ४ गतेदेखि सुरु भएको प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशाला स्थित टेनिस कोर्टमा सञ्चालन गरिएको थियो। प्रतियोगितामा १२ वटा क्लबका २१८ खेलाडीले १३ विधामा प्रतिस्पर्धा गरेका थिए।

समापन कार्यक्रममा बलाधिकृत, तीनवटै सुरक्षा निकायका प्रमुख, रथीवृन्द, राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल टेनिस संघका पदाधिकारी, विभिन्न टेनिस क्लबका प्रतिनिधि, सञ्चारकर्मी र खेलाडीहरूको उपस्थिति रहेको थियो।