क्यान्सरका बिरामी औषधि अभावको पीडामा : अस्थायी आयातले टर्‍यो  तत्कालको संकट

0
Shares

 –राज्यको मूल्य नीति र कमजोर व्यवस्थापनका कारण जीवनरक्षक औषधिमै संकट

काठमाडौं।

नेपालमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने जीवनरक्षक औषधिको अभाव देखिएपछि बिरामी र तिनका परिवार गम्भीर मानसिक तनाबमा परेका छन् । विशेषगरी केमोथेरापीमा प्रयोग हुने ‘सिस प्लाटिन’ र ‘कार्बोप्लाटिन’ जस्ता अत्यावश्यक औषधि बजारमा नपाइएपछि उपचार प्रभावित हुने अवस्था सिर्जना भएको थियो । यद्यपि, औषधि आयातकर्ताहरूको सक्रियता र सरकारी निकायसँगको समन्वयपछि तत्कालका लागि अभाव कम गर्ने प्रयास सफल भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले केही दिनअघि नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधिहरूसँग छलफल गर्दै संकट समाधानका लागि तत्काल समन्वय गर्न आग्रह गरेको थियो । त्यसपछि आयातकर्ताहरूले बंगलादेशलगायतका मुलुकबाट ती औषधि फास्ट ट्रयाकमार्फत नेपाल भित्र्याउन थालेका हुन् ।

नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार विश्वबजारमै यी औषधिको अभाव रहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण पेट्रोकेमिकलमा आधारित औषधि उत्पादन महँगो बन्दै गएको र नेपालमा मूल्य समायोजनको स्पष्ट नीति नहुँदा आयात प्रभावित भएको उहाँले बताउनुभयो । उहाँका अनुसार आयान लाइफ केयर कुपण्डोलले बंगलादेशबाट ८ सय भाइल कार्बोप्लाटिन आयात गरिसकेको छ भने सिस प्लाटिन पनि ल्याउने प्रक्रिया अघि बढेको छ । अन्य आयातकर्ताले पनि यी औषधिलाई प्राथमिकतामा राखेर आयात सुरु गरेका छन् ।

आयान लाइफ केयरका मार्केटिङ म्यानेजर कमाल उज्माले कम्पनीले घाटा व्यहोरेरसमेत औषधि ल्याएको बताउनुभयो । ‘प्रतिभाइल ६५० देखि १ हजार रुपियाँसम्म घाटा छ, तर बिरामीको जीवन जोगाउन हामीले तत्काल औषधि उपलब्ध गराएका छौं’ –उहाँले भन्नुभयो । आयातकर्ता संघका अनुसार पाटन अस्पताल, सिभिल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाली सेना अस्पताललगायतका अस्पतालबाट आएका ५० भन्दा बढी बिरामीका आफन्तलाई प्रेस्क्रिप्सनका आधारमा औषधि वितरण गरिएको छ ।

तर, प्रश्न के उठेको छ भने – जीवनरक्षक औषधि अभावको अवस्था किन बारम्बार दोहोरिन्छ ? नेपालमा क्यान्सर रोगीको संख्या हरेक वर्ष बढ्दो छ । स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार हजारौं नयाँ बिरामी थपिइरहेका छन् । तर, उपचार प्रणाली, औषधि आपूर्ति र मूल्य नियन्त्रणको नीति अझै व्यवस्थित हुन सकेको छैन।

क्यान्सर एउटा यस्तो रोग हो, जसले बिरामीमात्र होइन, सम्पूर्ण परिवारलाई आर्थिक र मानसिक रूपमा कमजोर बनाइदिन्छ । धेरै परिवारले घरजग्गा बेचेर, ऋण लिएर वा सहयोग मागेर उपचार गराइरहेका छन् । यस्तो अवस्थामा औषधि अभाव हुनु राज्यको गम्भीर असफलता भएको स्वास्थ्य अधिकारकर्मीको भनाइ छ ।
नेपालको संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउने हक सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा ऐन तथा राष्ट्रिय स्वास्थ्य नीतिले पनि गम्भीर रोगका बिरामीलाई सहुलियत र सहज उपचारको व्यवस्था गर्नुपर्ने स्पष्ट उल्लेख गरेको छ । तर, व्यवहारमा जीवनरक्षक औषधि सहज रूपमा उपलब्ध नहुनु राज्यको कमजोर स्वास्थ्य व्यवस्थापनको संकेत मानिएको छ ।

विशेषज्ञहरूका अनुसार सरकारले क्यान्सरलगायत दीर्घरोगका औषधिलाई ‘अत्यावश्यक औषधि’को सूचीमा राखेर दीर्घकालीन आपूर्ति योजना बनाउन आवश्यक छ । औषधि मूल्य निर्धारणमा स्वचालित प्रणाली लागू नगर्दा आयातकर्ता कम्पनीहरू घाटामा जाने र बजारमा अभाव हुने अवस्था दोहोरिएको उनीहरूको भनाइ छ ।

स्वास्थ्य सचिव डा. विकास देवकोटा, औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गी तथा विभागका अधिकारीहरूको समन्वयकारी भूमिकाले तत्काल संकट कम गर्न सहयोग पुगेको आयातकर्ता संघले जनाएको छ । तर, स्वास्थ्य क्षेत्रका जानकारहरू भन्छन्– ‘तात्कालिक व्यवस्थापनमात्र पर्याप्त हुँदैन, दीर्घकालीन नीति आवश्यक छ ।’ क्यान्सरका बिरामीले औषधि खोज्दै अस्पताल चहार्नुपर्ने अवस्था कुनै पनि संवेदनशील राज्यका लागि लज्जास्पद विषय हो । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रलाई बजारको भरमा छाड्ने होइन, राज्यले जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नुपर्ने समय आएको छ ।