दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा विद्युतीय कारोबार र राज्यविरुद्ध कसुरमा मुद्दा दर्ता


काठमाडौँ।

दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा दुई फरक कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सोमबार विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दायर गरेको हो।

जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताका अनुसार सर्वोच्च अदालतको आदेशपछि अनुसन्धान प्रक्रिया पूरा गरी अदालतमा मुद्दा दर्ता गरिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जेठ ८ गते प्रसाईंलाई थप हिरासतमा नराख्न प्रहरीलाई आदेश दिएको थियो। अदालतले अनुसन्धान सकिए मुद्दा दर्ता गर्न र नसकिए कानुनी प्रक्रिया अनुसार अगाडि बढ्न निर्देशन दिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिपराज पाठकले अदालतको आदेशअनुसार अनुसन्धान प्रतिवेदन बुझाइसकिएको बताएका छन्।

प्रहरीले प्रसाईंलाई जेठ ४ गते पक्राउ गरेको थियो। त्यसपछि अदालतबाट पहिलोपटक तीन दिन र दोस्रोपटक चार दिन म्याद थप गरिएको थियो। प्रहरीले उनको सार्वजनिक अभिव्यक्तिलाई आधार बनाएर अनुसन्धान अघि बढाएको जनाएको छ।