मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” प्रदान


काठमाडौँ।

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अभियानमार्फत देशभरका ४२ जना कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

बैंकका अनुसार आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति प्रदान गरिएको हो। उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको प्रतिक्रिया दिएका छन्। एक विद्यार्थीले भने, “अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको छ।”

त्यसैगरी अभिभावकहरूले पनि बैंकको सहयोगले आफ्ना छोराछोरीको भविष्यप्रति नयाँ भरोसा जागेको बताएका छन्।

बैंकले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।