काठमाडौँ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन्।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम ९४० बमोजिम उनले विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेश सभामा उपस्थिति १०० जना सांससको उपस्थिति पक्षमा ६२ र विपक्षमा ३६ मत परेको छ सभामुख राम आशिष यादवले जानकारी गराए ।
हाल मधेश प्रदेश सभामा १०२ सदस्य कायम रहेका छन् । प्रदेश सभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४, जनमत पार्टीका १२, नेकपाका १५, जसपा नेपालका २६ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाका १–१ जना सांसद रहेका छन । यसअघि प्रदेश सभामा १०७ सदस्य रहेका थिए ।
जसपा नेपालका अभिराम शर्मा र सरोजसिंह कुश्वाहा निलम्बित छन् भने जनमत पार्टीका सतिशकुमार सिंह, एमालेका पूर्वसभामुख रामचन्द्र मण्डल, नेकपाका भरतप्रसाद साह र रहवर अन्सारी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए । साथै जसपा नेपालका रामअशिष यादव सभामुख भएपछि उनको मत गणनामा समावेश हुँदैन ।
मुख्यमन्त्री यादवको पक्षमा नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १४ तथा नेपाल सङ्घीय समाजवादी पार्टीका १ जना गरी ६१ सांसदले मतदान गरेका छन् ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालका २५, राप्रपाका १ तथा जनमत पार्टीका १२ र नागरिक उन्मुक्तिका एक सांसदले विपक्षमा मतदान गरेका छन्।
यसअघि वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश सरकार अल्पमतमा परेको थियो । त्यसपछि जेठ १ गते मुख्यमन्त्री यादवले लिएको विश्वासको मत असफल भएको थियो । नेपाली कांग्रेसभित्रै ‘फ्लोर क्रस’ हुने आशंकाका कारण त्यसबेला सरकार विश्वासको मत लिनबाट पछि हटेको थियो ।
त्यतिबेला सरकारलाई जसपा नेपाल, नेकपा र नेपाली कांग्रेसको समर्थन रहेको थियो । तर बिहीबार राति नेकपा एमाले सरकारमा सहभागी हुने सहमति भएपछि मधेश सरकारको समीकरण फेरिएको हो । नयाँ समीकरणअनुसार अब एमाले, कांग्रेस र नेकपाको संयुक्त सरकार बनेको छ ।











प्रतिक्रिया