काठमाडौँ ।
भारत लगायत विभिन्न देशका नागरिकहरूले अब थाइल्याण्डमा ३० दिनभन्दा बढी बस्न भिसा लिनुपर्ने भएको छ ।
थाई सरकारले मंगलबार नयाँ नीति अनुमोदन गर्दै लामो समयदेखि लागू गरिएको ६० दिने भिसा–मुक्त बसाइको सुविधा अन्त्य गर्ने निर्णय गरेको हो । जुलाई २०२४ देखि ९३ देशका पर्यटकलाई भिसाबिना ६० दिनसम्म थाइल्याण्डमा बस्न अनुमति दिइएको थियो । कोभिड–१९ महामारीपछि पर्यटन र अर्थतन्त्रलाई पुनः चलायमान बनाउन उक्त व्यवस्था लागू गरिएको थियो ।
अब भने यात्रुहरूले कति दिनसम्म भिसाबिना बस्न पाउने भन्ने व्यवस्था देशअनुसार फरक–फरक हुने बताइएको छ । थाई सरकारले सुरक्षा चिन्ता र जटिल बन्दै गएको भिसा व्यवस्थापनलाई नीति परिवर्तनको मुख्य कारण मानेको छ ।
हालै थाइल्याण्डमा लागूऔषध कारोबार तथा यौन बेचबिखनजस्ता मुद्दामा केही विदेशी नागरिक पक्राउ परेपछि सरकारले अध्यागमन नीति कडा बनाउने तयारी गरेको हो ।
थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले वर्तमान आर्थिक अवस्था र राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै नयाँ निर्णय आवश्यक भएको बताएका छन् ।
यसअघि ६० दिने भिसा–मुक्त सुविधाबाट अष्ट्रेलिया, चीन, फ्रान्स, जर्मनी, भारत, इटाली, स्पेन र अमेरिका लगायतका देशका नागरिक लाभान्वित हुँदै आएका थिए ।
थाई विदेश मन्त्रालयका अनुसार अब ती देशका नागरिकहरूले ३० दिनभन्दा बढी समय थाइल्याण्डमा बस्न चाहेमा अनिवार्य रूपमा भिसा लिनुपर्नेछ । -बीबीसी











प्रतिक्रिया