काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनैपनि किसिमको गुटबन्दी नभएको दाबी गरेका छन् ।
संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भएपनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताए । संसदको कामकारबाही र बजेट छलफलका सम्बन्धमा बोल्दै उपनेता पराजुलीले यसपटक विनियोजन विधेयक र नीति तथा कार्यक्रममाथिको छलफल विगतको तुलनामा द्रुत गतिमा भएपनि यो अर्थपूर्ण रहेको उल्लेख गरे ।
प्रतिपक्षले उठाएका महत्त्वपूर्ण सुझावहरूलाई बजेटमा समेट्न प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिवद्धता जनाएको उनको भनाइ छ ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिरहेको छैन र नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन् । असार ७, ८ र ९ गते हुने ऐतिहासिक राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारीहरू टुङ्ग्याउनेछ । विगतमा हप्तादिन चल्ने छलफल यस पटक दुई दिनमै टुङ्ग्याइएको सत्य हो, तर यसलाई सरकारले पेल्न खोजेको रूपमा बुझ्नु हुँदैन । बरु कार्यपालिका र व्यवस्थापिका दुवैले ‘फास्ट ट्रयाक’ मा काम गर्न खोजेको रूपमा बुझ्नुपर्छ ।’
प्रधानमन्त्री संसदमा अनुपस्थित भएको भन्ने आरोपको खण्डन गर्दै पराजुलीले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र टेबल गर्नुपर्ने विषयहरूमा सक्रियता देखाइरहनुभएको बताए । सरकारको १०० दिने कार्ययोजनाबारे जानकारी दिँदै उनले मन्त्रीहरू सार्वजनिक कार्यक्रम र रिबन काट्ने काममा भन्दा नतिजामुखी काममा केन्द्रित भएको दाबी गरे ।
पार्टीका नेताहरूमाथि लागेका आरोप र नैतिकताका विषयमा स्पष्ट पार्दै उपनेता पराजुलीले पूर्व गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको र सम्पत्ति छानबिनका लागि समिति बनेको जानकारी दिए । मोरङ क्षेत्र नं. २ का सांसद र अन्य सदस्यहरूका विरुद्ध लागेका आरोपहरू आधारहीन र चरित्र हत्या गर्ने उद्देश्यले आएको भन्दै उनले रास्वपा विधि र प्रक्रियामा पूर्ण विश्वास गर्ने पार्टी भएको बताए ।











प्रतिक्रिया