बुटवलमा देशभरका सुकुम्बासीको प्रदर्शन, डोजर रोक्न सरकारलाई चेतावनी

282
Shares

 बुटवल। 

रुपन्देहीको बुटवलका जम्मा भएका देशभरिका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आफूहरू रहिरहेको स्थानमै तत्काल लालपुर्जाको ग्यारेन्टी गर्न सरकारसँग माग गदै वृहत् प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको प्रदर्शनमा जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने उनीहरूले चेतावनी दिएका छन् । 

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको ट्राफिकचोक पुगेर सभामा परिणत भएको थियो । चर्को गर्मीको वावजुद छाता ओढेरै प्रदर्शनमा हजारौं भूमिहीन र अव्यवस्थित बसोबासीको उपस्थिति रहेको थियो । प्रदर्शनमा सहभागीले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनपछि भएको सभामा बोल्ने वक्ताहरुले अव्यवस्थित बसोबासी र सुकुम्वासी बस्तीमा डोजर नचल्ने सुनिश्चित नगरे काठमाडौँ केन्द्रित आन्दोलन गरेर सरकार ढाल्ने सम्मको चेतावनी दिएका छन् ।

 सरकारले वैकल्पिक व्यवस्थाको भरपर्दो व्यवस्था नगरी हतारोमा बस्तीमा डोजर आतंक मच्याएपछि देशभरका १२ लाख बढी परिवारका झण्डै ५० लाख नागरिक प्रभावित भएको संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकले बताउनुभयो । वर्षौंदेखि बस्दै आएको घरबास सरकारले हटाउन सक्ने त्रासले लाखौं नागरिकमा मानसिक पीडा र तनाव भएकाले सरकारलाई दबाब दिन आन्दोलन गरिएको विकले बताउनु भयो । 

सभामा अर्का वक्ता दाङका हरिश गिरीले लालपुर्जा नपाउनु नागरिकको गल्ती नभई विगतका सरकारको गल्ती भएको बताउनुभयो । उहांले सुकुम्वासी बस्तीमा प्रहरीले घेरा हालेर डर त्रासमा पारेर जबरजस्ती शासन लाद्न खोजिएको भन्दै सरकारको दादागिरी स्वीकार्य नभएको बताउनुभयो । गिरीले दुई तिहाइको दम्भ नदेखाउन आग्रह गर्दै देशभरका सुकुम्वासी काठमाडौँ गएर सिंहदरबार घेर्ने चेतावनी दिनुभयो । 

अर्की वक्ता लिजा राईले वैकल्पिक व्यवस्था विना सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई होल्डिङ सेन्टरमा अमानवीय व्यवहार गरेको गुनासो गरिन् । सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या सुकुम्वासीको मात्र नभई तीन करोड नेपालीको मुद्दा भएको बताइन् ।

सभामा संघर्ष समितिका संयोजक खगेन्द्र पौडेल, सचिव राजकुमार भट्टराई, रिसब पोखरेल, नरेन्द्र दर्जी लगायतले बोल्दै सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई तत्काल लालपुर्जा दिन माग गर्नु भएको छ । संघर्ष समितिले जेठ ४ गते बुटवलमै सुकुम्वासी र अव्यवस्थित बसोबासीको राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

 संघर्ष समितिले सरकारसंग मुख्यतः ११ वटा माग राखेर आन्दोलन जारी राखेको छ । जसमा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथि डोजर प्रयोग गरी जबरजस्ती निष्कासन, घरटहरा भत्काउने तथा अमानवीय व्यवहार तत्काल बन्द गर्न माग गरिएको छ । यस्तै यसअघिको भूमि ऐन बमोजिम नाप–नक्सा सम्पन्न भइसकेका क्षेत्रहरूको बाँकी प्रशासनिक तथा कानुनी प्रक्रिया तत्काल पूरा गरी शीघ्र लालपुर्जा वितरण गर्न माग गरिएको छ ।