भरतपुर ।
नेपालको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी, आधुनिक र नागरिकमैत्री बनाउन संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वय अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् ।



नेपाल चिकित्सक संघद्वारा चितवनको भरतपुरमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्र सुधारका लागि तीन तहका सरकारबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।


शनिवारदेखि दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालको स्वास्थ्य प्रणालीलाई थप आधुनिक, सुलभ, किफायती र समान बनाउन आवश्यक नीति, रणनीति र नवप्रवर्तनका विषयमा व्यापक छलफल भइरहेको छ । यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ रहेको छ ।
सचिव डा. देवकोटाले स्वास्थ्य क्षेत्रमा कुल बजेटको न्यूनतम १० प्रतिशत विनियोजन गर्ने लक्ष्य अझै पूरा हुन नसकेको बताउनुभयो । उहाँका अनुसार हाल प्रत्येक वर्ष कुल बजेटको करिब ४ देखि ५ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रमा विनियोजन हुँदै आएको छ । विगतको तुलनामा बजेट केही बढे पनि आवश्यकताअनुसार पर्याप्त नभएको उहाँको भनाइ थियो ।
उहाँले स्वास्थ्य बजेटको ठूलो हिस्सा रोग उपचारमा खर्च भइरहेको उल्लेख गर्दै स्वास्थ्य प्रवद्र्धन तथा रोग रोकथामका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । विशेषगरी नसर्ने रोगहरूको बढ्दो चुनौतीलाई ध्यानमा राख्दै रोग लाग्न नदिनेतर्फ केन्द्रित कार्यक्रम सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पनि स्वास्थ्य सेवा सुधारका लागि तीन तहका सरकारबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो । उहाँले प्राथमिक स्वास्थ्य सेवा नै सम्पूर्ण स्वास्थ्य प्रणालीको आधार भएकाले त्यसलाई बलियो बनाउनु वर्तमान आवश्यकता भएको उल्लेख गर्नुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न डिजिटल प्रविधि, नवप्रवर्तन र दक्ष जनशक्तिको प्रभावकारी परिचालन आवश्यक रहेको उहाको धारणा थियो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर तथा खर्चसम्बन्धी चुनौती समाधान गर्न नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, स्वास्थ्य बिमा, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोगलगायत विषयमा विशेष सत्र सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले यसलाई गुणस्तरीय र प्रभावकारी बनाउन नीतिगत सुधारसँगै नवीन अभ्यास आवश्यक छ । सम्मेलनले स्वास्थ्य क्षेत्रका साझा चुनौती र सम्भावित समाधानबारे गम्भीर बहस गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सक, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधि तथा विश्व मेडिकल एसोसिएसनका विज्ञहरूको सहभागिता रहेको छ ।
नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष डा. बद्री रिजालले सम्मेलनमा ६० वटा अनुसन्धानमूलक कार्यपत्रसहित १०० भन्दा बढी वैज्ञानिक तथा प्राज्ञिक प्रस्तुतीकरण हुने जानकारी दिनुभयो । साथै चारवटा समूहगत छलफलमार्फत स्वास्थ्य क्षेत्रका समसामयिक मुद्दामाथि गहन विमर्श गरिने उहाँले बताउनुभयो ।
संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले स्वास्थ्य क्षेत्रसम्बन्धी नीति निर्माणमा चिकित्सकहरूको अनुभव र सुझावलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले सम्मेलनलाई चिकित्सकहरूको मात्र नभई समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि साझा बहसको मञ्चका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले स्वास्थ्य शिक्षामा आम नागरिकको जनचेतना हुनुपर्ने बताउनुभयो ।
नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले स्वास्थ्य क्षेत्र सुधारका लागि सम्मेलनलाई साझा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । नीति निर्माणमा सहकार्य, अनुभव आदानप्रदान तथा नवीन समाधानको खोजीमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
सम्मेलनको अर्को विशेष आकर्षण ‘भरतपुर घोषणापत्र’ रहने आयोजकले जनाएको छ । सम्मेलनका निष्कर्ष, सुझाव तथा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकताहरू समेटेर घोषणापत्र जारी गरिनेछ । उक्त घोषणापत्रले आगामी स्वास्थ्य नीतिको दिशा निर्धारणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । सम्मेलनमा देशभरका चिकित्सक, स्वास्थ्य नीति निर्माता, स्वास्थ्य प्रशासक, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको उल्लेख्य सहभागिता रहेको छ ।
उक्त समेलनको वागमती प्रदेशका मुख्य मन्त्री ईन्द्र बानियाँले उद्घाटन गर्ने र चिकित्सक संघका अध्यक्ष कार्लेकीले नवनिर्वाचित अध्यक्ष डा. बद्री रिजालको टोलीलाई हस्तान्तरण गर्नेलगायतको कार्यक्रम रहेको छ ।











प्रतिक्रिया