काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य पदार्थ तथा निकोटिनजन्य उत्पादनको बढ्दो प्रयोगले विश्व जनस्वास्थ्यमा गम्भीर चुनौती सिर्जना गरिरहेको भन्दै विशेषगरी युवापुस्तालाई लक्षित गरी गरिने उद्योगहरूको प्रचार रणनीतिप्रति सतर्क रहन आह्वान गरेको छ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२६ का अवसरमा जारी सन्देशमा डब्लुएचओकी दक्षिण–पूर्वी एशिया क्षेत्रीय निर्देशक डा. क्याथरिना बोहमेले विश्वभर १.२ अर्बभन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ तथा निकोटिनजन्य उत्पादन प्रयोग गरिरहेको जानकारी दिँदै यसले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोगलगायतका घातक स्वास्थ्य समस्या निम्त्याइरहेको बताएकी छन्।
उनका अनुसार डब्लुएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रमा मात्र करिब ३२ करोड २० लाख वयस्क र ८६ लाख किशोरकिशोरी सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेका छन्। यस क्षेत्रका २८ करोड ८० लाखभन्दा बढी मानिसले धूम्रपानरहित सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्, जुन विश्वका कुल यस्ता प्रयोगकर्तामध्ये करिब ८० प्रतिशत हो।
यस वर्ष विश्व सुर्तीजन्य पदार्थ रहित दिवस “अपीललाई उजागर गरौँ स् निकोटिन र सुर्तीजन्य पदार्थको लतविरुद्ध लडौँ” भन्ने मूल नारासहित मनाइँदै छ। दिवसको उद्देश्य सुर्ती तथा निकोटिन उद्योगहरूले आफ्ना उत्पादनलाई आकर्षक बनाउँदै युवापुस्तालाई कसरी लततर्फ धकेलिरहेका छन् भन्ने विषयलाई सार्वजनिक गर्नु रहेको डब्लुएचओले जनाएको छ।
डब्लुएचओका अनुसार एक समय विश्वमै सबैभन्दा बढी सुर्तीजन्य पदार्थ प्रयोग हुने क्षेत्र मानिएको दक्षिण–पूर्वी एशियामा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको छ। सन् २००० देखि २०२४ सम्म वयस्क पुरुषमा सुर्तीजन्य पदार्थ प्रयोगको दर ७०।१ प्रतिशतबाट घटेर ३७.४ प्रतिशतमा पुगेको छ भने महिलामा यो दर ३८ प्रतिशतबाट ९.३ प्रतिशतमा झरेको छ।
संगठनले सन् २०१० देखि २०२५ बीच वयस्क सुर्तीजन्य पदार्थ प्रयोगमा ४० प्रतिशत सापेक्षिक कमी ल्याउने लक्ष्यतर्फ क्षेत्र अग्रसर रहेको जनाएको छ। यो उपलब्धि गैर–सञ्चारी रोग नियन्त्रणसम्बन्धी विश्वव्यापी लक्ष्यभन्दा पनि माथि रहेको उल्लेख गरिएको छ।
विश्वभर सुर्तीजन्य पदार्थ प्रयोगकर्ताको सङ्ख्यामा हुने अनुमानित १२ करोडको कमीमध्ये आधाभन्दा बढी योगदान दक्षिण–पूर्वी एशिया क्षेत्रबाट हुने अपेक्षा गरिएको डब्लुएचओले जनाएको छ। साथै, माल्दिभ्सले पुस्तागत सुर्तीजन्य पदार्थ प्रतिबन्ध लागू गर्ने विश्वकै पहिलो राष्ट्र बनेर सुर्ती नियन्त्रण अभियानमा नयाँ उदाहरण प्रस्तुत गरेको पनि संगठनले उल्लेख गरेको छ।
डब्लुएचओका अनुसार सुर्ती नियन्त्रणसम्बन्धी विश्वव्यापी सन्धि एफसीटीसी तथा एमपावर रणनीतिको प्रभावकारी कार्यान्वयनले यी उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यी रणनीतिमा सुर्तीजन्य पदार्थको प्रयोगको निगरानी, दोस्रो हातको धुवाँबाट सुरक्षा, धूम्रपान त्याग्न सहयोग, स्वास्थ्य जोखिमबारे चेतावनी, विज्ञापन प्रतिबन्ध तथा कर वृद्धि जस्ता उपाय समावेश छन्।
यद्यपि परम्परागत सुर्तीजन्य पदार्थमाथि नियमन कडा बन्दै गएपछि उद्योगहरूले नयाँ रणनीति अवलम्बन गर्न थालेको डब्लुएचओको भनाइ छ। ई–सिगरेट, निकोटिन पाउच तथा कृत्रिम निकोटिनयुक्त उपकरणलाई आधुनिक र आकर्षक उत्पादनका रूपमा प्रचार गरी विशेषगरी किशोरकिशोरी तथा युवालाई लक्षित गरिएको संगठनले जनाएको छ।
विभिन्न स्वादयुक्त उत्पादन, डिजिटल विज्ञापन तथा सामाजिक सञ्जालमार्फत गरिने प्रवर्द्धनले युवालाई आकर्षित गरिरहेको भन्दै डब्लुएचओले सरकारहरूलाई यस्ता गतिविधिमाथि थप निगरानी र नियन्त्रण गर्न आग्रह गरेको छ।
संगठनले कृत्रिम निकोटिन, निकोटिन साल्ट तथा अन्य उदीयमान निकोटिनजन्य उत्पादनसम्बन्धी कानुनी र नियामक व्यवस्था थप सुदृढ गर्न, स्वादयुक्त उत्पादन तथा डिजिटल प्लेटफर्ममा हुने विज्ञापन नियन्त्रण गर्न र युवालाई उद्योगको प्रभावबाट जोगाउन व्यापक जनचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जनाएको छ।
डा। बोहमेले सुर्ती र निकोटिनको लतबाट मुक्त हुन सकिने बताउँदै त्यसका लागि उद्योगले सिर्जना गरेको कृत्रिम आकर्षण र बजार रणनीतिबारे जनतालाई सुसूचित गरिनुपर्नेमा जोड दिएकी छन्।











प्रतिक्रिया