काठमाडौँ
फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा वैशाख २१ गते सुनसरीको दुहबीस्थित दिनेश स्मृति भवनमा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै पूर्व मन्त्री भगवती चौधरीले तीन दशकदेखि सञ्चालनमा रहेको लघुवित्त कार्यक्रमले ग्रामीण महिलाको आर्थिक, सामाजिक र राजनीतिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो । उहाँले ऋण मिनाहा सम्भव नभएकाले कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र गलत तत्वको पछि नलाग्न आग्रह गर्नुभयो ।
सभाले अध्यक्ष केशवराज पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण अनुमोदन गरेको छ ।
त्यस्तै, नयाँ सञ्चालक चयन गर्दै संस्थापक तथा सर्वसाधारण शेयर संरचना ७०÷३० बाट परिवर्तन गरी ६०÷४० कायम गर्ने प्रस्ताव पनि पारित गरिएको छ । साथै पूँजी वृद्धि योजना, प्रबन्धपत्र तथा नियमावली संशोधन र अन्य लघुवित्त संस्थासँग गाभ्ने–गाभिने सम्बन्धी प्रस्तावहरू स्वीकृत भएका छन् ।
संस्थाले हाल ४० जिल्लामा १५९ शाखामार्फत २ लाख ८४ हजारभन्दा बढी विपन्न परिवारलाई सेवा दिँदै आएको छ भने २२ अर्बभन्दा बढी कर्जा लगानी र १० अर्बभन्दा बढी बचत संकलन गरेको छ । कार्यक्रममा विभिन्न वक्ताहरूले लघुवित्त क्षेत्रमा देखिएका चुनौती सामना गर्दै संस्थालाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।











प्रतिक्रिया