प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको सन्देश: सत्य र निष्पक्ष पत्रकारितामा जोड


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा सम्पूर्ण पत्रकार तथा नेपाली नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले स्वतन्त्र र निष्पक्ष पत्रकारितामार्फत सत्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै नागरिकलाई सुसूचित गराउने कार्यमा यसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

साथै, संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको स्मरण गराउँदै पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचनाबाट सचेत रहँदै सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ।