लिखु–४ प्रभावित क्षेत्रमा आर्थिक बेथिति : खेलमैदान र एम्बुलेन्स खरिद बिना लाखौं निकासा


ओखलढुङ्गा ।

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा रहेको लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रमका लागी वितरण गरेको रकममा चरम घोटला भएको पाइएको छ । आयोजनाले खिजीदेम्बा गाउँपालिका वडा नम्बर १ मा खेल मैदान निर्माण नै नगरी रकम निकासा गरेको देखिएको छ।

आयोजनाले मैदान निर्माण उपभोक्ता समितिको नाममा १५ लाख रुपैयाँ निकासा गरेको भएता पनि खिजीदेम्बा १ रगनीमा हाल सम्ममा कुनै पनि खेल मैदान निर्माण भएको देखिएको छैन ।

यस विषयमा खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्मल सुनुवारलाई सम्पर्क गरी जानकारी लिँदा खेल मैदान निर्माण उपभोक्ता समितिको नाममा जलविद्युत आयोजनाले १५ लाख रुपैयाँ निकासा गरेको स्वीकार गरेका छन । अध्यक्ष सुनुवारले रकम समितिको खातामा जम्मा भएको भएता पनि जग्गा अभावका कारण खेल मैदान निर्माण गर्न नसकेको बताएका छन ।

खेल मैदान निर्माणको लागी जग्गाको व्यवस्थापन भइसकेकाले केही समय पछि मैदान निर्माण शुरु गरिने अध्यक्ष सुनुवारले बताएका छन ।
यसैगरी जलविद्युत आयोजनाले हिमालयन सामुदायिक संस्थाको लागि एम्बुलेन्स खरिद शीर्षकमा रकम निकासा गरेको भएता पनि हाल सम्म एम्बुलेन्स खरिद नगरेको पाइएको छ ।

आयोजनाले एम्बुलेन्स खरिद शीर्षकमा संस्थाका अध्यक्ष रोशन महतराको नाममा ६ लाख रुपैयाँको चेक मार्फत भुक्तानी गरेको पाइएको छ । संस्थाको नाममा एम्बुलेन्स खरिदका लागि रकम वितरण गरिएको भएता पनि चेक ब्यक्तिको नाममा काटेको देखिएको छ ।

यस बारेमा हिमालयन सामुदायिक संस्थाका अध्यक्ष रोशन महतरालाई सम्पर्क गरेर बुझ्दा आफूले रकम लिएको स्वीकार गरेका छन । अध्यक्ष महतराले आफूले एम्बुलेन्स खरिदका लागी नभएर कोरोना भाइरसको संकमण फैलिएको बखत कोरोना सङ्क्रमण नियन्त्रणका लागी स्वास्थ्य कर्मी व्यवस्थापन गर्न रकम लिएको बताएका छन ।

कोरोनाको समयमा विविध कारणले लिखु ४ सँग गरिएको सम्झौता अनुसारको काम गर्न नसकिएको अध्यक्ष महतराले बताएका छन । त्यस बखत हिमालयन सामुदायिक संस्थाको नाममा कुनै पनि बैङ्कमा खाता नरहेकाले आफ्नो नाममा चेक काटेर रकम निकासा गरिएको अध्यक्ष महतराले स्विकारेका छन ।
आफूले विद्युत गृहबाट लिएको ६ लाख रुपैयाँ संस्थाको नाममा रहेको दाबी उनले गरेका छन ।