काठमाडौं |
पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। समाज कल्याण परिषद्अन्तर्गतको सामाजिक उद्यमशीलता कोष, नेपाल विकास अभियान तथा विभिन्न संस्थाहरूको सहकार्यमा आयोजित दुईदिने सम्मेलनको उद्घाटन समाज कल्याण परिषद्का निमित्त निर्देशक संजयकुमार मल्लिकले भृकुटीमण्डपमा गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मल्लिकले वर्तमान समय उद्यमशीलताको युग भएको उल्लेख गर्दै नेपालको आर्थिक वृद्धिदरलाई गति दिन उद्यमशीलताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सामाजिक उद्यमशीलतामार्फत आर्थिक विकाससँगै सामाजिक समस्याहरूको समाधान गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाल गैरसरकारी संस्था महासंघ तथा नेपाल विकास अभियानका अध्यक्ष अर्जुन भट्टराईले नेपालको सन्दर्भमा सामाजिक उद्यमशीलताको महत्व दिनप्रतिदिन बढ्दै गएको बताए। उनले सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको जानकारी दिँदै दुई दिनसम्म नीति, अभ्यास र चुनौतीहरूका विषयमा व्यापक छलफल हुने बताए।
अध्यक्ष भट्टराईले सामाजिक उद्यमशीलताको मूल उद्देश्य सामाजिक समस्याको पहिचान गरी त्यसको दिगो समाधान खोज्नु रहेको उल्लेख गरे। “सामान्य व्यवसायमा नाफा आर्जन प्राथमिक उद्देश्य हुन्छ, तर सामाजिक उद्यमशीलतामा नाफासँगै सामाजिक समस्याको समाधान र सकारात्मक परिवर्तन सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरिन्छ,” उनले भने। सामाजिक उद्यमशीलताले उद्यमशीलता सिद्धान्त, प्रक्रिया र व्यवस्थापनमार्फत सामाजिक परिवर्तन हासिल गर्ने लक्ष्य राख्ने उनको भनाइ थियो।
आयोजक समितिका संयोजकसमेत रहेका भट्टराईले सम्मेलनमा सामाजिक उद्यमशीलता कोष, नेपालमा यसको वर्तमान अवस्था तथा विश्वका विभिन्न मुलुकमा सञ्चालन भइरहेका यस्तै कोषहरूको अभ्यासबारे प्रस्तुतीकरण दिएका थिए।
सम्मेलनमा सातै प्रदेशका सामाजिक उद्यमीहरूले उत्पादन गरेका हस्तकला, मौलिक नेपाली वस्तु तथा कृषि उत्पादनहरू २० भन्दा बढी स्टलमार्फत प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन र सामाजिक उद्यमीहरूलाई बजारसँग जोड्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
नेपाल सरकारले २०७७ सालदेखि अघि बढाएको सामाजिक उद्यमशीलता कोषले विभिन्न सामाजिक समस्याको पहिचान, अनुसन्धान तथा समाधानका लागि सामाजिक उद्यमहरूको विकास, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्दै आएको छ।

दुईदिने सम्मेलनमा आठ वटा विषयगत सत्र सञ्चालन हुनेछन्। पहिलो दिन तीन वटा सत्र सम्पन्न भएका छन् भने दोस्रो दिन पाँच वटा सत्र सञ्चालन हुने कार्यक्रम छ। सम्मेलनमा युवा, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, विश्वविद्यालय तथा अध्ययन–अनुसन्धान संस्थाका विज्ञ र विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको छ।











प्रतिक्रिया