नेपाल चिकित्सक संघको निर्वाचन सम्पन्न : आज रातिदेखि मतगणना सुरु हुने


काठमाडौं ।

नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा देशभरबाट कुल ७ हजार १०१ मत खसेको छ । निर्वाचन समितिका अनुसार यो कुल मतदाता संख्याको ४४.१० प्रतिशत सहभागिता हो ।

यसपटक संघको निर्वाचनमा मतदानका लागि कुल १६ हजार १ सय चिकित्सक योग्य रहेका थिए । काठमाडौं उपत्यकाभित्र बिहीबार र शुक्रवार तथा उपत्यकाबाहिर यसअघि सम्पन्न मतदानलाई जोड्दा कुल मतसंख्या ७ हजार नाघेको हो ।

निर्वाचन समिति सदस्य डा. अतित पौडेलका अनुसार काठमाडौं उपत्यकामा दुई दिनको मतदानमा कुल २ हजार ८५७ मत खसेको छ । यसअघि वैशाख ४ र ५ गते उपत्यकाबाहिर सम्पन्न मतदानमा ४ हजार २४४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

मतदान सम्पन्न भएसँगै अहिले मुचुल्का तयार गर्ने लगायतका प्रशासनिक प्रक्रिया जारी रहेको र आजै रातिबाट मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले यसअघि नै लगातार दुई दिन अर्थात ४८ घण्टा मतगणना गरेर अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी रहेको बताउनुभयो ।

यसपटकको निर्वाचनमा तीन प्रमुख समूहबीच कडा प्रतिस्पर्धा भएको छ ।
टिम मंगलबाट डा. मंगल रावल, टिम बद्रीबाट डा. बद्री रिजाल, र टिम रिफर्मबाट डा. नारायण भुषाल अध्यक्ष पदका मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा उत्रिउनु भएको छ । तीनै समूहले चिकित्सकको पेशागत हकहित, स्वास्थ्य नीति सुधार, चिकित्सक सुरक्षा, सेवा सुविधा तथा संघको संस्थागत सुदृढीकरणलाई मुख्य चुनावी एजेन्डा बनाएका थिए ।

नेपाल चिकित्सक संघको निर्वाचनलाई चिकित्सक समुदायभित्र प्रतिष्ठाको चुनावका रूपमा हेरिने गरिन्छ । संघले चिकित्सकको पेशागत अधिकार, स्वास्थ्य नीति निर्माण, सरकारसँगको संवाद तथा स्वास्थ्य क्षेत्रका विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसपटकको निर्वाचनमा युवा चिकित्सकहरूको सहभागिता, डिजिटल प्रचारप्रसार र पेशागत सुधारका एजेन्डाले विशेष चर्चा पाएको थियो ।

चुनावको परिणामले आगामी कार्यकालमा संघको नेतृत्व कसले सम्हाल्नेमात्र होइन, नेपालको स्वास्थ्य क्षेत्रको पेशागत राजनीतिमा पनि प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

संघको विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, सात प्रदेशबाट ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ तथा ६ सदस्य गरी कुल १९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । मतगणना सुरु भएसँगै चिकित्सक समुदायको ध्यान अब अन्तिम परिणामतर्फ केन्द्रित भएको छ ।