शिभाली र स्वस्तिका फाइनलमा


काठमाडौं ।

शिभाली गुरुङ र स्वस्तिका विष्ट १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको सेमिफाइनल खेलमा शिभालीले प्राज्ना मानन्धरलाई ६–० र ६–१ ले हराइन् । अर्को सेमिफाइनल खेलमा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरिन् ।

यसैगरी पुरुष सिंगल्समा प्रदीप खड्का र दर्शिल श्रेष्ठले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा प्रदीपले आयुशमान हजुर घलेलाई ६–३, ६–७ र ६–१ को तीन सेटमा पराजित गरे । दर्शिलले भने प्रणव मानन्धरलाई ६–० र ६–० ले सहजै पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र सन्तोष खत्री फाइनल पुगेका हुन् । उक्त स्पर्धाको पुरुष डबल्समा भीष्मजंग गुरुङ र गगन महर्जन तथा जितेन्द्र परियार र छेवाङ लामाको जोडी फाइनलमा प्रवेश गरेका थिए ।