काठमाडौँ
नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितीमा संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो ।
उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्यहरु अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाहलगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
कर्मचारीको हितलाई उच्च महत्व दिँदै आएको नबिल बैंकले बैंकमा कार्यरत कर्मचारी आमालाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुमको स्थापना गरेको हो । नर्सिङ रुमले कर्मचारीहरुलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रुपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ ।
‘यस कक्षको थालनी मार्फत हामीले हाम्रो कर्मचारीप्रतिको जिम्मेवारी पुरा गरेका हौं । यसले कर्मचारी आमालाई कार्यालयभित्र आफ्नो बच्चासँग सुरक्षित छु भन्ने महशुस गराउने छ,’ संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीले बताउनुभयो ।
उद्धाटन कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले नर्सिङ रुम बैंकको तर्फबाट एउटा राम्रो सुरुवात भएको बताउनुभयो । ‘लैङ्गिक समानता, कर्मचारीको हित नबिल बैकका प्रमुख मान्यता भित्र पर्दछन् र आज सुरु भएको यो कक्षले हाम्रा ती मुल्यमान्यताहरुलाई प्रतिबिम्बित गर्छ,’ अध्यक्ष चौधरीले भन्नुभयो ।
‘हेर्दा सानो देखिए पनि यस कदमले हाम्रो कर्मचारीहरुलाई सकारात्मक असर पार्नेछ र यो कक्ष हाललाई केन्द्रिय कार्यालयमा मात्र भएपनि आउने दिनमा अरु शाखाहरुमा पनि विस्तार गर्दै लगिने छ,’ उहाँले थप्नुभयो ।
यसप्रकारका प्रयासमार्फत नबिल बैंकले आफ्ना कर्मचारीका ख्याल राख्नुका साथै सहयोग गर्ने वातावरणलाई बढावा दिइरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ ।
नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।











प्रतिक्रिया