पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न


काठमाडौँ
पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको दुईदिने सम्मेलन बुधबार सुरु भएको थियो ।

आइक्यानले लेखा व्यवसाय क्षेत्रका महत्वपूर्ण विषयवस्तु तथा आर्थिक एवं अन्य समसामयिक विषयमा छलफल गरी नीति निर्माण प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले बर्सेनि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ ।

यस वर्षको सम्मेलनको थिम ‘स्ट्रेन्थिङ ट्रस्ट एण्ड इकनोमिक गोभरनेन्स ः क्याटलाइज नेपालस् इक्नोमिक ट्रन्सफर्मेशन’ रहेको थियो । सम्मेलनमा यही थिममा केन्द्रित ६ वटा प्राविधिक सत्रहरू सञ्चालन गरिएको थियो ।

सम्मेलन उद्घाटन सत्रमा महालेखापरीक्षक तोयम राय प्रमुख अतिथि थिए । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा, एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका अध्यक्ष सिए अनुप नेपाल तथा नेपाल अडिटर्स एसोसिएसनका अध्यक्ष आरए बद्रीप्रसाद भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि महालेखापरीक्षक रायले जोखिममा आधारित लेखापरीक्षणको महत्त्वमाथि प्रकाश पार्दै निजी क्षेत्रको पारदर्शिता र सुशासन सुदृढ गर्न लेखापरीक्षणको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । लेखा व्यवसायीले रणनीतिक सल्लाहकार तथा जोखिम व्यवस्थापकको रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । वर्तमान डिजिटल अर्थतन्त्र र दिगोपनको युगमा तथ्यांकमा आधारित निर्णय प्रणालीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सम्मेलनमा युवा लेखा व्यवसायीको सक्रिय सहभागिता रहेकोमा आफूलाई खुसी लागेको महालेखापरीक्षक रायले बताउनुभयो । नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा महवपूर्ण सुझाव दिन सम्मेलनले योगदान गर्ने विश्वास रहेको उनले बताउनुभयो ।

सम्मेलनका वक्ता तथा सहभागीहरूले नीति कार्यान्वयनको प्रभावकारिता, पारदर्शिता अभिवृद्धि, प्रविधिमैत्री वातावरण निर्माण तथा व्यावसायिक क्षमता विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न सकिनेमा जोड दिएका थिए । यो सम्मेलनले लेखा व्यवसायीहरूबीच ज्ञान आदानप्रदान, नीति संवाद तथा पेशागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

सम्मेलनमा चार्टर्ड एकाउन्टेन्ट्स, लेखा व्यवसायीहरू, नीति निर्माताहरू, नियामक निकायका प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्मेलनको प्रत्यक्ष प्रसारण संस्थाको आधिकारिक फेसबुक तथा युट्युब पेजमार्फत गरिएको थियो ।

सम्मेलनमा नाडाका पूर्वअध्यक्ष तथा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद ढकालको विशेष प्रेरणादायी सत्र पनि राखिएको थियो ।

सम्मेलनको समापन सत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको थियो । सोही सत्रमा आइक्यानका कार्यकारी निर्देशक सिए बिमल डंगोलले समापन मन्तव्य राख्नुभएको छ ।