रसुवा ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित पार्वतीकुण्डमा बैसाख १३ देखि १५ गतेसम्म पहिलो पटक याक–चौरी महोत्सव सम्पन्न भएको छ। जिल्लामै पहिलो पटक आयोजना गरिएको उक्त महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुने अपेक्षा गरिएको छ।
आमाछोदिङ्मो गाउँपालिकाको विशेष सहयोगमा आयोजित महोत्सवको मुख्य उद्देश्य याक तथा चौरीको संरक्षण र प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, संस्कृति, धर्म र पशुपालनलाई टेवा पुर्याउनु रहेको आयोजकले बताएका छन्।

गत्लाङ क्षेत्रका बासिन्दाको मुख्य आयस्रोत कृषि तथा पशुपालन रहेको भन्दै महोत्सवले किसानहरूको मनोबल बढाउनुका साथै थप ऊर्जा प्रदान गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए। उनले धार्मिक स्थल पार्वतीकुण्ड तथा स्थानीय होमस्टेहरूको प्रचार–प्रसार गरी यस क्षेत्रलाई विश्वव्यापी रूपमा चिनाउने उद्देश्य रहेको बताए।
महोत्सवको पहिलो दिन सयौँ चौरी प्रदर्शन गरिएको थियो भने उत्कृष्ट चौरीपालक किसानलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। साथै चौरीजन्य परिकारहरूको प्रदर्शनी गरिएको थियो। भेडाको ऊनबाट बनेका पटुका, टोपी, स्विटर, गलैंचा, पाखी र राडी जस्ता सामग्रीहरूको बिक्रीसमेत गरिएको थियो, जसबाट लाखौँ रुपैयाँको व्यापार भएको आयोजकले जनाएको छ।
आमाछोदिङ्मो गाउँपालिका–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङका अनुसार युवाहरूको विदेश पलायन र सहरतर्फको आकर्षणका कारण परम्परागत चौरीपालन पेशा संकटमा परेको छ। चरण क्षेत्रको अभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा चौरी गोठ घट्दै गएको अवस्थामा यो महोत्सवले संरक्षण र सम्भावनाबारे सकारात्मक सन्देश दिएको उनले बताए।

महोत्सवकै अवसरमा गाउँपालिका स्तरीय सांस्कृतिक प्रतियोगिता तथा हाफ म्याराथन प्रतियोगिता पनि आयोजना गरिएको थियो। साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरू सुमन घले, शिशिर थोक्रा र छेवाङ तामाङले सांस्कृतिक प्रस्तुति दिएका थिए।











प्रतिक्रिया