नष्ट गरिँदै ३३ लाख बढीका औषधि


हेटौंडा।

गत भदौ २४ गते जेन–जी आन्दोलनका नाममा आगजनी गरिएपछि उच्च तापक्रमका कारण औषधि खानयोग्य नभएपछि मकवानपुरको मनहरी गाउँपालिकाले ३३ लाख रुपियाँभन्दा बढीका औषधिहरू नष्ट गर्न सुरु गरेको छ । गाउँपालिकाको औषधि भण्डारका २ सय २२ थरिका औषधि काम नलाग्ने भएका छन् ।
मनहरी गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार औषधि भण्डारमा आगजनी भए पनि कतिपय औषधिहरू जलेका भने थिएनन् । औषधिहरू नजले पनि उच्च तापमा परेकाले प्रयोग गर्न उपयुक्त नहुने विज्ञहरूको भनाइ छ । त्यसैले आगजनीमा परेका २ सय २२ थरिका औषधिलाई व्यवस्थित ढंगले नष्ट गर्न थालिएको शाखा संयोजक रामचन्द्र दाहालले बताउनुभयो ।

गाउँपालिकाले नगर प्रहरी प्रयोग गरेर हरेक ट्याब्लेटलाई खोलबाट निकाली जमिनमा गाडेर नष्ट गरिएको छ भने तरल प्रकृतिका औषधिहरूका बोतल फुटाएर एकै भाँडोमा संकलन गरी नष्ट गर्न थालिएको संयोजक दाहालले बताउनुभयो । उहाँका अनुसार नष्ट गरिने सबै औषधिको मूल्य ३३ लाख रुपियाँभन्दा बढी छ । पालिका अध्यक्ष रञ्जन कालाखेती, प्रमुख प्रशासीय अधिकृत रमेश सुवेदी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सरोकारवालालगायतको उपस्थितिमा औषधि नष्ट गर्ने कार्य गरिएको हो ।

अधिकांश औषधिहरू कोठाको सामान्य तापक्रम अर्थात १५—२५ डिग्री सेल्सियसमा राख्न सिफारिस गर्ने गरिन्छ । धेरै गर्मी वा घाम पर्ने ठाउँमा औषधि राख्दा तिनको रासायनिक संरचना बिग्रिएर काम नगर्ने हुन सक्छन् । अधिक तातोमा औषधिको प्रभावकारिता घट्न सक्छ । चिसोमा राख्नुपर्ने औषधिमा इन्सुलिन, केही भ्याक्सिन र झोल औषधिहरूलाई फ्रिजको चिसो ठाउँ (२—८ डिग्री सेल्सियस) राख्नुपर्छ । त्यसैले गत भदौ २४ गते देशभर भएको आन्दोलनका क्रममा मनहरी गाउँपालिका अध्यक्षको कक्ष, जिन्सी शाखासहित, लामिटारमा रहेको स्वास्थ्य, सामाजिक, पशु, शिक्षालगायत शाखाहरूमा क्षति पुगेको थियो भने सभाहलसमेत जलाइएको थियो ।