काठमाडौँ
राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच नेपालपे कार्डको प्रिन्सिपल मेम्बरका रूपमा सहकार्य गर्ने सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि बैंकको स्विच इन्टिग्रेसन सम्पन्न भएपछि ग्राहकहरूले नेपालपे कार्ड प्रयोग गर्न सक्नेछन् र सम्बन्धित कार्ड कारोबारहरू एक्सेप्ट गर्न मिल्नेछ । हालसम्म ३४ बैंक तथा वित्तीय संस्थाहरू यस प्रणालीमा प्रिन्सिपल मेम्बरका रूपमा आवद्ध भइसकेका छन्, जसमध्ये केहीले लाइभ अपरेशन सुरु गरिसकेका छन् ।
एनसीएचएलले नेपालपे कार्डको व्यवसायिक रोलआउट सुरु गरिसकेको छ र अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा यो कार्ड विश्वभर प्रयोग गर्न सकिने भएको छ ।
नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेपालपे प्रणालीले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र प्रणाली सञ्चालकहरूद्वारा जारी गरिएका कार्डहरू एटीएम र पीओएस टर्मिनलमा नेपाल तथा विदेशमा प्रयोग गर्न सकिने बनाएको छ । यस प्रणालीले घरेलु कार्ड कारोबारको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया