लन्डन, (एजेन्सी) ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यस सिजनको च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा संघर्षपूर्ण जित हासिल गरेको छ । पेरिसमा घरेलु मैदानमा भएको उक्त खेलमा पीएसजीले पाहुना टोली जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई ५–४ ले हराएको हो ।
कूल ९ गोल भएपछि च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोलको सेमिफाइनल खेल भएको कीर्तिमानसमेत निर्धारण भयो ।
यो खेलमा पीएसजीले जित निकालेपनि अहिले नै फाइनल पुग्ने संभावना भने छैन । अर्को साता हुने दोस्रो लेगको खेलले मात्रै फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ । यो खेलमा दूरी १ गोलकै मात्र भएको हुँदा फुटबल पण्डितहरूले अर्को लेग निकै रोमाञ्चक हुने अनुमान लगाइरहेका छन् । यो खेल म्युनिखमा हुनेछ ।
पीएसजीले पहिलो हाफमा ३–२ को अग्रता लिएको थियो । ह्यारी केनको पेनाल्टी गोलमा बायर्नले १७ औं मिनेटमै अग्रता लिएको थियो । तर भिचा भारात्सेलियाले २४ औं मिनेटमा खेल बराबरीमा ल्याए । मिडफिल्डर जोआवो नेभेसले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गर्दै ३३ औं मिनेटमा पीएसजीलाई २–१ ले अगाडि बढाए ।
४१ औं मिनेटमा बायर्नले माइकल ओलिसेको गोलमार्फत खेल २–२ को अवस्थामा ल्याएको थियो । तर पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा ओस्मान डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए । दोस्रो हाफको सुरुआती समयमै पीएसजीले २ गोल थपेर ५–२ को अग्रता लिएको थियो ।
विंगर भारात्सेलियाले ५६ औं र डेम्बेलेले ५८ औं मिनेटमा एक–एक गोल गरेका थिए । यसपछि जोसुआ किमिचको फ्रिकिकमा रक्षक डायोट उपामेकानोले ६५ औं मिनेटमा हेड गोल गर्दा बायर्नले ५–३ को स्कोर बनायो । यसपछि केनको पासलाई लुइस डियाजले सनसनीपूर्ण गोलमा परिणत गरेपछि ६८ मिनेटमा बायर्न पीएसजीसँगको दुरी एक गोलमा झार्न सफल भएको थियो ।











प्रतिक्रिया