आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ घरेलु सिरिजमा नेपालले २ अंक गुमायो

0
Shares

काठमाडौं ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत् त्रिकोणीय वानडे सिरिजमा नेपालले ओमानसँग १ सय २ रनको हार बेहोरेको छ ।

बुधबार त्रिवि मैदानमा भएको खेलमा नेपालले ३६.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदा वर्षा सुरु भएको थियो । पानी पर्न नरोकेपछि डकवर्थ लेविसको आधारमा ओमानले जितेको घोषणा गरियो ।

हारसँगैं नेपालले घरेलु सिरिजमा पूर्णाङक ८ अंकमा २ अंक पनि गुमाएको छ । सिरिजमा पहिलो खेलमा नेपालले यूएईलाई हराएको थियो । त्यस्तै ओमानले पनि आफ्नो पहिलो खेलमा यूएईसँग हार बेहोरेको थियो ।

तीनै टोलीले २–२ खेल खेल्दा समान एक जित र एक हारको नतिजा पनि आत्मसात ग¥यो । योसँगैं ओमान ३१ अंकका साथ तेस्रो, नेपाल १४ अंकका साथ सातौं र यूएई १२ अंकसहित पुछारमा रहेका छन् । अब यस सिरिजमा तीनै टोलीले २÷२ खेल खेल्न बाँकी छ ।

ओमानले ३ सय रन बनायो
नेपाली बलरको प्रदर्शन कमजोर हुँदा ओमानका खेलाडीहरूले यसको फाइदा उठायो । ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको थियो । जसमा, कप्तान जतिन्दर सिंहले १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए । नेपालका कप्तान रोहित पौडेलले आफुसँगैं ८ जना बलरलाई बलिङमा तैनाथ गरेपनि ओमानको रनगतिलाई रोक्न सकेनन् ।

नेपाली बलरमा सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट हासिल गरेका थिए । अन्य ५ जना बलर विकेटविहीन भएका थिए । जसमा, करण केसीले निकै निरस प्रदर्शन गरे । उनले ७ ओभरमा ६१ रन खर्चेका थिए । यसपछि, गुलशन झाले ६ ओभरमै १ मेडन राखेपनि ४५ रन दिएका थिए ।

ब्याटिङमा दीपेन्द्रमाथि नै निर्भर
नेपालको ब्याटिङ निकै कमजोर देखिएको छ । न ओपनरले गतिलो ब्याटिङ गरे न कप्तान रोहित र मध्यक्रमका ब्याटरले नै राम्रो ब्याटिङ गरे । केवल दीपेन्द्रसिंह ऐरीले मात्रै ओमानका बलरहरूविरुद्ध डटेर ब्याटिङ गरे । अन्यले निकै गैरजिम्मेबारी ब्याटिङ गरेका थिए ।

दीपेन्द्रले ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६० रनको योगदान दिएका थिए । अघिल्लो खेलमा पनि उनी मात्रै चम्केका थिए । उनले यूएईविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए ।
यस खेलमा ओपनरमा रहेका कुशल भुर्तेलले १ रन र आसिफ शेखले १९ रन मात्रै बनाए । जुन तरिकाले ब्याटिङ गर्नु पर्ने हो त्यसअनुसार उनीहरूले ब्याटिङ गर्न सकेनन् । नेपालले अब, ओपनिङमा कोही राम्रो ब्याटर छान्नुपर्ने समय आइसकेको छ ।

कप्तान रोहितले पनि पछिल्लो समयमा फितलो प्रदर्शन गर्दै आएका छन् । उनले क्रिजमा रहुन्जेल रनगति बढाउन कुनै जोखिम नै उठाएनन् । उनी दबाबमा खेलेर १० रनमै पभेलियन फर्केका थिए ।
यस्तै, भिम सार्कीले सुस्तगतिमा रन जोडे । उनले ५६ बलको सामना गर्दा मात्र २८ रन बनाएका थिए । बसिर अहमदले १ रनमै चित्त बुझाए भने आरिफ शेखले केही सम्भावना देखाएपनि १४ रनमा आउट भए ।

गुलशन झा १४ रन र सोमपाल २ रनमा नटआउट रहेका थिए । ओमानका बलरमा नदीम खानले ३, शकील अहमदले २ तथा वसिम अली र मुहम्मद इमरानले १–१ विकेट लिएका थिए ।