हरेक वर्ष वैशाख शुक्ल चतुर्दशीका दिन नृसिंह जयन्ती मनाइन्छ । हामी सबैलाई थाहा भएकै कुरा हो कि शक्तिशाली राक्षसराज हिरण्यकश्यपका पुत्रका रुपमा भगवत भक्त प्रह्लादको जन्म भएको हो ।
भक्त प्रह्लादले कुरा गर्न जान्ने भएदेखि नै भगवान्को नाम लिने गरेका थिए । जहिले पनि नारायण भगवान्को नाम लिइरहने, राजा हिरण्यकश्यपले जति भने पनि भगवान्को नाम लिन नछोड्ने प्रह्लादलाई ‘यहाँ कोही पनि भगवान् छैन, म नै भगवान हुँ, मेरो नाम लिनू’ भने तापनि प्रह्लादले कहिल्यै मानेनन् । ‘भगवान् म नै हुँ, भगवान्को नाम लिने होइन, मेरो नाम लिनुपर्छ’ भन्ने हिरण्यकश्यपले आदेश दिएकाले समस्त प्रजाहरुले राजा हिरण्यकश्यपलाई नै भगवान् सम्झेर मानी रहे ।
तर हिरण्यकश्यपका छोरा प्रह्लादले जहिले पनि भगवान् नारायणको नाम लिइरहेकाले अत्यन्तै क्रोधित भई हिरण्यकश्यपले प्रह्लादलाई मार्ने उद्देश्यले कहिले भीरबाट खसालेर मार्न लगाउन खोजे, कहिले जंगलमा पठाएर जंगली जनावरले मारोस् भनी अनेकौं प्रयास गरे । तर पनि प्रह्लादलाई मार्न सकिएन । अन्त्यमा बहिनी होलिकाले प्रह्लादलाई सँगै लिई दनदनी बलिरहेको आगोमा पसेर मार्न खोजियो । आगोले नछुने वरदान प्राप्त होलिका आगो लागेर मरी तर प्रह्लादलाई भने आगोले छोएन । प्रह्लाद बाँच्न सफल भए ।
जति प्रयास गरे पनि मार्न नसकेपछि एकदिन सिंहासनमा बसिरहेका हिरण्यकश्यपले छोरा प्रह्लादलाई तेरो नारायण कहाँ छ ? भनी सोध्छन् । प्रह्लादले मेरो भगवान् जहीँतहीँ छन् भनी जबाफ दिन्छन् । त्यसो हो भने तेरो भगवान् नारायण यो खम्बामा पनि छ त ? भनी बाबुले बैठकमा रहेको ठूलो खम्बामा देखाउँदा प्रह्लादले यहाँ पनि छन् भन्छन् । हिरण्यकश्यपले क्रोधित भई एक मुड्की खम्बामा प्रहार गर्छन् । तत्कालै उक्त खम्बा फुटाएर नृसिंहको अवतार लिई भगवान् नारायण प्रकट हुन्छन् ।
हिरण्यकश्यपले ब्रह्माबाट कुनै पनि मानिस वा जनावरले मार्न नसक्ने, हतियारले मार्न नसक्ने, न राति न दिनमा पनि मार्न नसक्ने, बाहिर वा भित्र पनि मार्न नसक्ने वरदान पाएका थिए । त्यसैले नृसिंह साँझको समयमा भवनको सँघारमा बसे अनि हिरण्यकश्यपलाई काखमा लिई भने– ‘हेर्, अहिलेको समय भनेको न दिन हो, न रात । यो न आकाश हो, न धर्ती । म न जनावर हुँ, न मानिस । मेरा हातका नङ्ग्रा हतियार होइनन् । मैले यही नङ्ग्राले तेरो पेट चिरेर मार्न लागेको हुँ ।
’ नृसिंहले यति भन्दै हिरण्यकश्यपको पेट चिरेर मारिदिन्छन् । नृसिंह पुराणमा उल्लेख गरेअनुसार यो दिन वैशाख शुक्ल चतुर्दशी हो । यही दिन साँझको समयमा नृसिंहको अवतरण भएको हो । यो दिन व्रत बसेमा सबै पाप नाश हुन्छ भनिएको छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार सोमबार, रेवती नक्षत्र र प्रदोष समयमा नृसिंहको अवतार भएको हो । नृसिंह भगवान्ले भनेका छन्– जसले यो दिनका बारेमा थाहा पाएको छ, उसले अवश्य पनि व्रत गर्नुपर्छ ।
यस विषयमा पौराणिक कथा यस्तो छ । हिरण्यकश्यपलाई मारिसकेपछि पनि नृसिंहको रिस शान्त नभई कामिरहे । कुनै पनि देवता त्यहाँ नजिक आउन सकेनन् । ब्रह्मा, विष्णु र महादेवले आकाशवाणी गरेर भक्त प्रह्लादलाई भने कि प्रार्थना गरेर नृसिंहको क्रोध शान्त पार । भक्त प्रह्लादले नृसिंहको प्रार्थना गर्दा नृृसिंहको क्रोध शान्त हुन पुग्छ ।
त्यसपछि नृसिंह खुशी भई प्रह्लादलाई आफ्नो काखमा राख्छन् । प्रह्लादले दुवै हात जोडेर नृसिंहलाई प्रार्थना गर्दै भन्छन्, ‘म हजुरकै भक्त हुँ । त्यसैले म एउटा तथ्य सोध्छु, भक्ति भनेको विभिन्न किसिमका छन् तर मैले हजुरको कस्तो भक्ति गरेको प्रभावले हजुरको मन पर्ने हुन सकेँ ? यो कुरा भनिबक्सियोस् ।’
प्रह्लादका यस्ता कुरा सुनेर भगवान् नृसिंहले भने, ‘तिम्रो भक्तिभावको प्रभावले पूर्वजन्ममा तिमी एउटा ब्राह्मण भएका थियौ । तर उक्त जन्ममा तिमीले पढेनौ, भगवान्को पूजा पनि गरेनौं । वेश्याहरुको संगतमा प¥यौ । जहिले पनि वेश्याहरुसँग मात्र आसक्त भएर बस्यौ । त्यसो भए तापनि तिमीले एकपटक मेरो व्रत बसेका रहेछौ । त्यही व्रतका प्रभावले तिमीलाई अहिले आएर यस किसिमको भक्त हुन सकेका हौ ।’
नृसिंहका यस्ता कुरा सुनेर प्रह्लाद सोध्छन्– ‘पूर्वजन्ममा म कसको छोरा थिएँ ? वेश्याहरुसँग आसक्त भएर पनि मैले कुन भगवान्को व्रत गरेको थिएँ ? जुन व्रतका प्रभावले मलाई यो फल प्राप्त भयो, यसको रहस्य बताइबक्सियोस् भगवान् ।’
प्रह्लादका यस्ता अनुनय विनय सुनेपछि भगवान् नृसिंहले भने–‘अवन्तिपुर भन्ने स्थानमा सबैले मान्ने गरेका वेदमा पारंगत भएका सुशर्मा नामका ब्राह्मण र उनकी पतिव्रता ब्राह्मणीबाट पाँच छोराहरु हुन्छन् । उनीहरु आफ्ना पिताप्रति श्रद्धाभाव राख्ने गर्दथे । तिनै पाँच छोराहरुमध्ये तिमी कान्छा छोरा हौ । वेश्याहरुको संगतमा परेर तिमीले धेरै पाप गर्न पुग्यौ ।
एकदिन तिम्रो र वेश्याको बीचमा ठूलो झगडा हुन गयो । त्यही झगडाको कारण तिमी भोकै बस्नुप¥यो । त्यही तिम्रो व्रत हुन पुग्यो । तिमीले मनमा चिन्ता लिई रातभरि निदाउन सकेनौ, त्यही तिम्रो जाग्राम हुन पुग्यो । तिम्रो यस्तो व्रत देखेर स्वर्गका देवताहरु पनि खुशी भए । महादेवले पहिला त्रिपुरवधका लागि ठूलो फल पाइने यो व्रत बसेका हुन्, जसको प्रभावले सम्पूर्ण सिद्धि प्राप्त गरेका हुन् ।
यसरी वेश्यासँग भएको झगडाको कारणले गर्दा तिम्रो यो उत्तम व्रत पूर्ण भएको हो । हे प्रह्लाद, थाहा नपाईकनै गरेको व्रतको प्रभावले तिमीलाई उत्तम गति प्राप्त भयो । तिमीसँग झगडा गर्ने वेश्या पनि यसकै प्रभावले विभिन्न किसिमका भोग गरिसकेपछि मुक्त भई । जसले जानी वा नजानी यो व्रत बस्छ, उसले सय कल्पसम्म संसारमा जन्मिन आउन पर्दैन । अपुत्र भए पुत्र प्राप्ति हुन्छ, निर्धन भए धन प्राप्त हुन्छ र मुक्ति पनि पाइन्छ ।’
यस्ता उत्तम कुरा सुनेर भक्त प्रह्लाद अत्यन्तै खुशी भई कुन दिनमा, कुन महिनामा यस्तो उत्तम व्रत गर्नुपर्छ, यसको विधि कस्तो छ भनी सोध्छन् । अत्यन्तै खुशी भई भगवान् नृसिंहले भने– ‘वैशाख महिनाको शुक्ल पक्षको चतुर्दशीका दिन विधिपूर्वक व्रत बसेर पूजा गरी, रातभर प्रार्थना गर्दै जाग्राम गर्नुपर्छ । सम्पूर्ण पाप नाश गर्ने व्रतको महिमाको कुरा सुन्नाले मात्र पनि सबैको कल्याण हुन्छ । यसमा केही सन्देह छैन । अन्त्यमा नृसिंह धाम प्राप्त हुन्छ ।’
स्मरणीय छ, काठमाडौंको असन न्ह्याय्कँ टोलमा नृसिंह आजुको मन्दिर छ । नेवारहरुले नृसिंह भगवान्लाई आजु (बाजे) को रुपमा मान्दै आइरहेका छन् । हरेक वर्ष घोडे जात्राको अघिल्लो दिन पाहाँचः¥हेमा नृसिंह आजुको जात्रा गर्ने चलन छ । पाहाँचः¥हेका दिन टोल–टोलमा रहेका विभिन्न देवी–देवताहरुलाई खटमा राखी जात्रा गर्दा नृसिंह भगवान्लाई पनि खटमा राखेर जात्रा गरिन्छ ।
त्यसरी नै ललितपुरमा भने हरेक वर्ष गाईजात्रापछि गरिने अकलंसाया भनी गरिने गाईजात्रामा नृसिंह र प्रह्लादको जात्रा गरिन्छ । नृसिंह भगवान्को मुकुट लगाएर नृसिंह हुने मानिस पसल–पसलमा पूजा थाप्न जान्छ । त्यस्तै प्रह्लादको मुकुट लगाएको सानो केटा पनि नृसिंहसँगै नगरपरिक्रमा गरेर पूजा थाप्न जान्छ । यी दुवै देवताहरु गाईजात्रा घुमाउने बाटोमा परिक्रमा गर्छन् भने विभिन्न स्थानमा यी देवताहरुको पूजा पनि गरिन्छ ।











प्रतिक्रिया