आधुनिक महिलाका बुलन्द आवाज

1.6k
Shares

आजको २१ औँ शताब्दीमा महिलाका आवाज इतिहासकै सबैभन्दा बलियो, स्पष्ट र प्रभावकारीरुपमा सुनिन थालेका छन् । कहिल्यै बोल्न नदिइएका महिलाहरु आज समाज, राजनीति, शिक्षा, विज्ञान, व्यवसाय, कला, संस्कृति, प्रविधिलगायत जीवनका हरेक क्षेत्रमा आफ्नो उपस्थिति मात्र जनाइरहेका छ्रैनन्, नेतृत्वदायी भूमिकासमेत सशक्तरुपमा निर्वाह गरिरहेका छन् ।

आजको युग महिलाको युग भनेर व्याख्या गरिनुमा त्यसको प्रमुख आधार हो– महिलामा बढ्दो चेतना, शिक्षा, सशक्तीकरण र आफ्नै आवाजलाई पहिचान दिलाउन गरिएको निरन्तर संघर्ष । आधुनिक महिलाको आवाज र परिवर्तनको यात्रा केवल सामाजिक परिवर्तनको कथा मात्र होइन, यो आत्मसम्मान, अधिकार, अवसर अनि स्वतन्त्रताको निरन्तर खोजी पनि हो ।

अहिलेको युगलाई डिजिटल युग पनि भनिन्छ । सूचना, सञ्चार र प्रविधिको तीव्र विकाससँगै समाजका हरेक क्षेत्र डिजिटल हुँदै गएका छन् । यस परिवर्तनको केन्द्रमा आधुनिक महिला पनि सशक्तरुपमा उभिएका छन् । पहिले सीमित अवसरमा बाँधिएका महिला आज डिजिटल प्रविधिको सहायताले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, राजनीति र सामाजिक अभियानमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् ।

आधुनिक महिलाको आवाज सर्वप्रथम आत्मपहिचान र स्वतन्त्रताप्रति केन्द्रित छ । उनीहरु अब कसैको सहमतिमा होइन, आफ्नै निर्णयमा जीवन अगाडि बढाउन चाहन्छन् । विवाह, शिक्षा, रोजगारी, सन्तान हरेक विषयमा उनीहरुको मत निर्णायक बन्न थालेको छ । महिलाले घरभित्रको काम गर्नुपर्छ भन्ने पुराना साँचाहरु भत्काउँदै आधुनिक महिलाले आफ्नो अस्तित्वलाई स्वतन्त्र नागरिकका रुपमा स्थापित गरेको देखिन्छ ।

आधुनिक महिलाको आवाज अधिकार र न्यायका लागि पनि उस्तै सशक्त छ । डिजिटल मिडियाले महिलालाई सामाजिक आवाज उठाउने बलियो माध्यम दिएको छ । महिला अधिकार, लैङ्गिक समानता, हिंसाविरुद्धको अभियान र सामाजिक न्यायका मुद्दाहरु सामाजिक सञ्जालमार्फत व्यापकरुपमा उठाइएका छन् । यसले महिलालाई केवल सहभागी मात्र होइन, नेतृत्वकर्ताको रुपमा पनि स्थापित गरिरहेको छ ।

आधुनिक महिला डिजिटल प्लेटफर्ममार्फत समाज परिवर्तनको अग्रपङ्क्तिमा उभिन थालेका छन् । घरेलु हिंसा, लैङ्गिक विभेद, असमान ज्याला, बलात्कार, मानव बेचबिखनजस्ता मुद्दामा उनीहरु अब मौन बस्दैनन् । सामाजिक सञ्जालले उनीहरुको आवाजलाई हजारौँ–लाखौँ मानिससम्म पु¥याएको छ । महिलाहरु अब पीडित होइन, प्रतिरोधको प्रतीक बनेर उठ्दै छन् ।

सामाजिक संरचनाले महिलालाई लामो समयसम्म घर–परिवारको दायरामा सीमित गरेर राख्यो । घरभित्रका कामसँगै विभिन्न जिम्मेवारीमा जीवन कैद थियो । तर शिक्षा प्राप्त गर्दै जाँदा महिलाहरुले म पनि सक्षम छु, मसँग पनि आवाज छ, म पनि परिवर्तनको केन्द्र बन्न सक्छु भन्ने बुझ्न थाले । यही बोधले हजारौँ महिलालाई मौनताबाट बुलन्द आवाजको यात्रामा धकेलेको यथार्थ हो । आधुनिक महिलाको परिवर्तनको मुख्य आधार शिक्षा र अर्थिक स्वतन्त्रता हो ।

उच्च शिक्षा प्राप्त महिलाहरुले आफू अनुकूल करियर (पेसा, व्यवसाय) छान्न थालेका छन् । जागिररत महिलाहरुले आर्थिक स्वतन्त्रताको स्वाद पाएपछि निर्णय प्रक्रियामा ठूलो भूमिका खेल्न थालेका छन् । व्यापार, नेतृत्व, प्रविधि, अनुसन्धानदेखि राजनीतिसम्म महिलाको सहभागिता तीव्ररुपमा बढेको छ । अब महिलाहरु केवल घर सम्हाल्ने मात्र होइन, समाज र राष्ट्र सम्हाल्ने शक्ति बनेका छन् । अहिलेका महिला आफ्नो पहिचान आफैँ बनाउँदै छन् ।

उनीहरुको आवाज स्पष्ट, दृढ र स्वतन्त्र छ । विवाह वा परिवार बनाउनु व्यक्तिगत छनोट हो । करियरलाई प्राथमिकता दिनु विकल्प हो, बाध्यता होइन । आत्मसम्मानलाई पहिलो स्थान दिनु आधुनिक महिलाको पहिचान हो । लैङ्गिक असमानता र हिंसाको विरोधमा उनीहरुको भूमिका अहिले अग्रपंक्तिमा छ । उनीहरु अब समस्याको सिकार मात्र होइनन्, समाधानको नेतृत्वकर्ता पनि बनिरहेका छन् ।

आधुनिक समाजको निर्माणमा महिलाको भूमिका दिन–प्रतिदिन सशक्त बन्दै गएको छ । लामो समयसम्म मौनता, विभेद र असमानताको घेराभित्र सीमित महिलाको आवाज आज आत्मविश्वास, चेतना र अधिकारको प्रतीक बनेको छ । आधुनिक महिलाको आवाज केवल व्यक्तिगत अभिव्यक्ति मात्र होइन, यो न्याय, समानता र समावेशी समाज निर्माणको सशक्त आन्दोलन हो । समाजको उन्नति र प्रगतिमा महिलाको भूमिका आज अनिवार्य र निर्णायक बनिसकेको छ ।

विश्वभरि समानता, स्वतन्त्रता र पहिचानको खोजीमा महिलाहरुले नयाँ आयाम निर्माण गरिरहेका छन् । आधुनिक महिलाको आवाज केवल आवाज मात्र होइन, यो चेतना, संघर्ष र सफलताको यात्रा हो । पुराना परम्परागत सोचाइहरुले महिलालाई घरभित्र सीमित राख्ने प्रयास गरे पनि आजको पुस्ताले त्यस्ता सीमालाई भत्काउँदै अघि बढिरहेका छन् ।

शिक्षामा महिलाको पहुँच बढेको छ । रोजगारीका अवसर विस्तार हुँदै छन् । प्रविधिले महिलालाई अनलाइन व्यवसाय, फ्रिलान्सिङ सीप विकासजस्ता क्षेत्रतर्फ आकर्षित गरिरहेका छन् । उद्योग व्यवसाय, स्टार्टअप र वित्तीय क्षेत्रमा महिलाको सक्रियता बढेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म महिला प्रतिभा अझै उत्कृष्ट नतिजाका साथ उभिइरहेका छन् ।

शिक्षित महिला नै सशक्त समाजको आधार भएकोले डिजिटल शिक्षा आधुनिक महिलाको सशक्तीकरणको मुख्य आधार बनेको छ । आजका महिलाहरुमा म नेतृत्व गर्न सक्छु भन्ने बुलन्द आवाज घन्किइरहेको छ ।

प्रविधि र डिजिटल जगतले महिलाको आवाजलाई घर–परिवारको साँघुरो घेराबाट विश्वव्यापी बनाइदिएको छ । सामाजिक सञ्जालमार्फत उनीहरुले आफैँले भोगेका अन्याय र अत्याचारलाई उजागर गर्न सकेका छन् । डिजिटल सीपले उनीहरुलाई घरमै बसेर व्यवसाय शुरु गर्न सक्षम बनाएको छ । अनलाइन शिक्षा, रिमोर्ट वर्क तथा ई–कमर्सले नयाँ जीवनशैली निर्माण गरिदिएको छ । आजको महिला निडर, सचेत र अवसर खोज्न सक्षम छन् ।

राजनीति, सार्वजनिक प्रशासन, अन्तर्राष्ट्रिय संघसंंस्था, सुरक्षा निकाय, सञ्चार जगत् सबै क्षेत्रमा महिलाहरु नेतृत्वदायी भूमिकामा उभिन थालेका छन् । मन्त्री, सांसद, सीईओ, डाक्टर, वैज्ञानिक, पाइलट, प्रधानन्यायाधीशदेखि प्रधान्मन्त्रीसम्म अब महिलाका लागि असामान्य होइनन् । उनीहरु आफ्नो क्षमता, परिश्रम र दृष्टिले संस्थाहरुलाई नयाँ दिशा दिइरहेका छन् ।

यही नेतृत्व आजका महिलाहरुको परिवर्तनको यात्रा कति टाढासम्म आइपुगेको छ भन्ने यथेष्ट र बलियो प्रमाण हो ।

आजका महिलाको आवाज र दबाब बढ्दै गएको छ तर समस्याहरु अझै पनि समाप्त भएका छैनन् । महिलाको यतिका प्रगतिसँगै अझै पनि केही बाधा तथा चुनौतीहरु यथावत् छन् । धेरै ठाउँमा अझै पनि बालविवाह, छाउपडी प्रथा, दाइजो प्रथा, घरेलु हिंसा, श्रम शोषणजस्ता समस्याहरु कायम छन् । प्रविधिको पहँुच भए पनि साइबर हिंसाजस्ता नयाँ खतरा बढ्दै गएका छन् । समाजमा अझै पनि पुरानो सोच र विचार बोकिरहेका मानव जाति छन् ।

घरायसी कामको सम्पूर्ण जिम्मेवारी अझै पनि महिलालाई नै थोपरिन्छ । आर्थिक स्वतन्त्रता हासिल गर्न कठिनाइ, शिक्षा र करियरमा अवसरको असमानता, घरेलु जिम्मेवारीको अत्यधिक बोझ, लैङ्गिक हिंसा र दुव्र्यवहार, पुरातन सामाजिक मान्यताहरु र परम्परागत सोच, मानसिक दबाब तथा तनावजस्ता चुनौतीहरु यथावत् नै छन् । विशेष गरी ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा तथा जनचेतनामा कमी, असुरक्षित मातृत्व, पोषणमा कमी, प्रजनन स्वास्थ्यजस्ता क्षेत्रमा महिलालाई आवश्यक सेवामा पहुँच पाउन कठिन छ ।

स्वास्थ्य सचेतना तथा पहुँच अभावले महिलाको क्षमता विकासमा बाधा पु¥याइरहेको छ । महिलाहरु डिजिटल प्रविधिको अवसरबाट अझै टाढा छन् । यी चुनौतीले आधुनिक महिलाको आवाजलाई अझ दृढ सजग र परिवर्तनकारी बनाउँदै छ ।

एक समय समाजमा महिला अधिकारको कुरा उठाउनु निकै चुनौती थियो तर अहिले तमाम चुनौतीका बाबजुद पनि हरबखत माथि उठ्न खोजिरहेछन् आजका महिलाहरु । आधुनिक महिलाको आवाज अब समाजको मूलधार बनिसकेको छ । आगामी दिनमा विभिन्न समस्या तथा चुनौतीलाई चिर्दै अझै धेरै महिलाहरु नेतृत्वमा पुग्नेछन् ।

डिजिटल उद्यमशीलतामा महिलाको सहभागिता बढ्नेछ । शिक्षा, स्वास्थ्य, कानुन र प्रविधिमा महिला विशेषज्ञहरुको नयाँ पुस्ता तयार हुनेछ । लैङ्गिक समानता केवल नारा नभई व्यावहारिक वास्तविकता बन्नेछ । घरेलु हिंसा, महिला तस्करी, दुव्र्यवहार र भेदभावविरुद्ध चेतना बढ्नेछ । कानुनले महिलाको अधिकारलाई अझै मजबुत बनाउनेछ । पुरुष र महिला दुवैले लैङ्गिक समानतालाई समाजले सहजै स्वीकार्र्नेछ । अबका महिलाहरुको आवाज डराइरहेको स्वर होइन, आत्मविश्वासले भरिएको अभिव्यक्ति बन्नेछ ।

आधुनिक महिलाको आवाज परिवर्तन, स्वाभिमान, सीप, सफलता, यात्रा, संघर्ष, प्रेरणा र उपलब्धिले भरिएको एउटा गौरवमय आवाज हो । यो आवाज उठ्न थालेपछि परिवार बदलिन्छ, समाज बदलिन्छ, राष्ट्र बदलिन्छ । महिलाको आवाजलाई दबाएर कुनै पनि सभ्यता उन्नत हुन सक्दैन । महिलाको आवाजलाई सुनेर, स्वीकारेर, साथ र अवसर दिएर मात्र न्यायपूर्ण, समतामूलक र समुन्नत समाज निर्माण गर्न सकिन्छ ।

यो यात्रा केवल महिलाको मात्र होइन, समग्र समाजको प्रगतिको यात्रा हो । आधुनिक महिला आज परिवर्तनको यात्री मात्र होइन, परिवर्तनको मेरुदण्ड पनि बनेका छन् । आधुनिक महिलाको आवाज र परिवर्तनको यात्रा केवल महिलाको कथा होइन, यो त समाज सभ्यता र मानवताको प्रगतिशील यात्राको कथा हो । जब महिला सशक्त हुन्छन्, तब समाज सशक्त हुन्छ । जब महिला बोल्छन्, तब परिवर्तन जन्मिन्छ । आजको आधुनिक महिला केवल भविष्यको आशा मात्र होइनन्, भविष्यको निर्माणकर्तासमेत हुन् ।