स्याङ्जा।
जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाका झन्डै ९४ प्रतिशत योजना सम्झौता भएर निर्माणका क्रममा रहेका छन् । चालु आर्थिक वर्ष २०८२-८३ का कुल १ सय ४३ योजनामध्ये ९४ दशमलब ४० प्रतिशत अर्थात् १ सय ३५ योजना निर्माणको क्रममा रहेका हुन् । पछिल्लो तथ्याङ्क अनुसार ९४ प्रतिशत भन्दा बढी योजना निर्माणको क्रममा रहेकै समयमा ८ वटा योजनाहरु सम्झौता हुन सकेका छैनन् । १८ करोड ८७ लाख ५० हजार बराबर बजेटका १ सय ४३ कुल योजनामध्ये करिब ७६ लाखका ८ वटा योजनाहरु सम्झौता हुन नसकेको कार्यालयले जनाएको छ ।
कम्तिमा ५ लाखदेखि बढिमा २ करोडसम्मका योजनाहरु कार्यान्वयनमा जाँदा ५ लाखदेखि २० लाखसम्मका ८ वटा योजनाहरु कार्यान्वयनमा जान नसकेको डिभिजन कार्यालयका डिभिजन प्रमुख किरण आचार्यले बताउनुभयो । ‘सकेसम्म सबै योजना निर्माण गर्ने तयारी गर्दागर्दै केहि योजना सम्झौता हुन सकेनन् ।’ उहाँले भन्नुभयो, ‘८ वटा योजना सम्झौता हुन नसक्दा ७६ लाख बजेट अलपत्र परेको छ ।’ सम्झौता हुन नसकेका ठूला योजनामा बाडखोला नदी नियन्त्रण २० लाख, घाकुर तल्लो माथिल्लो कुलो निर्माण ११ लाख, विना इन्धन पानी तान्ने पम्प संचालन १० लाख, ग्रिन भिलेज लिफ्टिङ्ग सिँचाइ योजना १० लाख र बैडाको कुलो निर्माणमा १० लाख रहेका छन् । सानो बजेटतर्फ मरेन्दा सिँचाई योजना, बान्द्रे कुलो निर्माण र बुके पोखरी संरक्षणका ५÷५ लाख बजेटका योजना सम्झौता हुन नसकेको कार्यालयले जनाएको छ ।
‘कार्यालयका सबै योजनाहरु निर्माण गर्ने गरी आन्तरिक तयारी गरेका थियौं ।’ डिभिजन कार्यालयका इन्जिनियर सुनिल केसीले भन्नुभयो, ‘स्थानीय उपभोक्ता समयमै सम्पर्कमा नआउँदा योजनाहरु सम्झौता हुन सकेन् ।’ कतिपय उपभोक्ताले बजेट सानो भएको गुनासो गरेका छन् भने कतिपयले उक्त बजेटबाट तोकिएको काम गर्न नसकिने जनाएको इन्जिनियर केसीले बताउनुभयो । उता कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ९ महिना (साउनदेखि चैत्रसम्म) को अवधिमा कुल २० करोड १५ लाख बजेटको झन्डै ४४ प्रतिशत रकम खर्च गरेको जनाएको छ । चालुतर्फको झन्डै ५५ प्रतिशत रकम खर्च गरेको कार्यालयले पुँजीगततर्फ करिब ४३ प्रतिशत रकम खर्च गरेको जनाएको हो ।
कुल बजेटमध्ये चालु शिर्षकमा विनियोजित १ करोड २७ लाख ५० हजारमध्ये ५५ प्रतिशत अर्थात् ७० लाख २२ हजार खर्च भएको जनाइएको छ । कार्यालयले दिएको जानकारी अनुसार १८ करोड ८७ लाख ५० हजारको पुँजीगत बजेटमा ४३ दशलमब ४९ प्रतिशतले हुने ८ करोड २१ लाख १ हजार खर्च भएको छ । जिल्लामा खासगरी ठूला पुर्वाधारका विकास निर्माण गर्ने कार्यालयमध्ये सिँचाइ कार्यालयको खर्चलाई तुलनात्मक रुपमा सन्तोषजनक मानिएको छ । पूर्वाधार विकासको जिम्मेवारी पाएका पूर्वाधार विकास कार्यालयको २६ प्रतिशत मात्रै पुँजीगत खर्च हुँदा खानेपानी तथा सरसफाई डिभिजनको ३० प्रतिशत वित्तीय प्रगति देखिदा सिँचाइ डिभिजनतर्फको ४३ प्रतिशत भन्दा बढी पुँजीगत खर्चलाई कोष तथा नियन्त्रण कार्यालयले सन्तोषजनक भनेको छ ।











प्रतिक्रिया