सगरमाथा आधार शिविरमा कृष्ण भण्डारीको विशेष एकल कविता वाचन, साहित्य र पर्यटनको अद्वितीय संगम


सोलुखुम्बु।

कवि तथा लेखक कृष्ण भण्डारीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको सगरमाथा आधार शिविरमा विशेष एकल कविता वाचन कार्यक्रम गर्ने भएका छन्।

नेपाली सेनाका उपरथी (अप्रा) समेत रहेका भण्डारीले हिमाली परिवेशबीच साहित्यिक प्रस्तुति दिने कार्यक्रम तय भएको हो। हिमालयन गाइड्स नेपालको आयोजनामा हुने उक्त कार्यक्रमले सगरमाथा क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनलाई साहित्यसँग जोड्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

विश्वको सर्वोच्च शिखरको काखमा आयोजना हुने यस विशेष कविता वाचन कार्यक्रमले नेपाली साहित्य, पर्यटन तथा हिमालप्रेमीहरूबीच नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। हिमाली वातावरणमै कविता प्रस्तुत गरिनु आफैंमा दुर्लभ र प्रतीकात्मक मानिएको छ, जसले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा समेत नयाँ पहिचान दिन सक्ने विश्वास गरिएको छ।

कार्यक्रम आगामी बैशाख २० गते सगरमाथा आधार शिविरमा आयोजना हुने तय भएको छ।