आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २- नेपाल ओमानसँग पराजित


काठमाडौँ। 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणीय वानडे सिरिजमा नेपालले ओमानसँग १ सय २ रनको हार बेहोरेको छ । 

बुधबार त्रिवि मैदानमा भएको खेलमा नेपालले ३६.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदा वर्षा सुरु भएको थियो । पानी पर्न नरोकेपछि डकवर्थ लेविसको आधारमा ओमानले जितेको घोषणा गरिएको हो । 

पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको थियो । जसमा, कप्तान जतिन्दर सिंहले १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए । नेपालका कप्तान रोहित पौडेलले आफुसँगैं ८ जना बलरलाई बलिङ गराए पनि ओमानको रनगतिलाई रोक्न सकेनन् । 

नेपाली बलरमा सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट हासिल गरेका थिए । अन्य ५ जना बलर विकेटविहीन भएका थिए । जसमा, करण केसीले निकै निरस प्रदर्शन गरे । उनले ७ ओभरमा ६१ रन खर्चेका थिए । यसपछि, गुलशन झाले ६ ओभरमै १ मेडन राखेपनि ४५ रन दिएका थिए । 

नेपालको ब्याटिङमा केवल दीपेन्द्रसिंह ऐरीले मात्रै ओमानका बलरहरूविरुद्ध डटेर ब्याटिङ गरे । उनले ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६० रनको योगदान दिएका थिए । अघिल्लो खेलमा पनि उनले यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए । 

यस खेलमा ओपनरमा रहेका कुशल भुर्तेलले १ रन र आसिफ शेखले १९ रन मात्रै बनाए । कप्तान रोहित १० रनमै पभेलियन फर्केका थिए । यस्तै, भिम सार्कीले सुस्तगतिमा २८ रन बनाएका थिए । बसिर अहमदले १ रनमै चित्त बुझाए भने आरिफ शेख १४ रनमा आउट भए । 

गुलशन झा १४ रन र सोमपाल २ रनमा नटआउट रहेका थिए । ओमानका बलरमा नदीम खानले ३, शकील अहमदले २ तथा वसिम अली र मुहम्मद इमरानले १–१ विकेट लिएका थिए ।