कर कार्यालय हट्दा लमजुङवासीलाई सास्ती

94
Shares

लमजुङ। 

लमजुङबाट करदाता सेवा कार्यालय हटाइएपछि यहाँका सेवाग्राहीहरु करसम्बन्धी सेवा लिन गाह्रो अवस्थामा परेका छन् । विशेषगरी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने करदाताहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । पहिले जिल्लाको बेसीशहरमै सहज रुपमा उपलब्ध सेवा अहिले बन्द भएको छ । 

पौष महिनासम्म सञ्चालनमा रहेको कार्यालय खारेज गरिएपछि त्यसका सेवा कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) मार्फत उपलब्ध गराउने निर्णय भए पनि व्यवहारमा भने त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कोलेनिका लमजुङका प्रमुख भवराज जोशीका अनुसार भ्याटसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अधिकार हालसम्म कार्यालयलाई प्राप्त नभएकाले पूर्ण सेवा दिन सम्भव भएको छैन । अहिले सेवाग्राहीले आवश्यक कागजात दमौलीस्थित कर कार्यालयमा पेस गरेपछि त्यहाँबाट प्रमाणीकरण भई आएको कागज मात्रै जिल्लाबाट प्रिन्ट गरेर दिने व्यवस्था रहेको छ ।

पुर्णरुपमा व्यवस्था नभएकै कारण सेवाग्राहीहरुलाई करसम्बन्धी कामका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता सिर्जना भएको छ । दमौली पुग्नुपर्ने अवस्थाले समय, पैसा र श्रम तीनै पक्षमा थप भार परेको सेवाग्राहीहरुको गुनासो छ । यातायात खर्च, बसोबासको व्यवस्था र कामका लागि छुट्याउनुपर्ने अतिरिक्त समयले समस्या झन् जटिल बनेको उनीहरुको भनाइ छ । 

जिल्लाबाहिर सेवा लिन जाँदा ढिलासुस्ती हुने, प्रक्रिया जटिल हुने र कहिलेकाहीँ पहुँचका आधारमा काम अघि बढाउनुपर्ने अवस्था रहेको भन्दै सेवाग्राहीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । यसले सरकारी सेवाप्रतिको विश्वासमा समेत असर पारेको उनीहरुको भनाइ छ । 

सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेको कोलेनिकालाई पूर्ण अधिकार प्रदान गरी सबै करसम्बन्धी सेवा जिल्लामै उपलब्ध गराउन माग गरेका छन् । साथै, डिजिटल प्रणालीमार्फत सेवा विस्तार गर्न सके यस्तो समस्या धेरै हदसम्म समाधान हुन सक्ने सुझाव पनि दिएका छन् । सरकारले सेवा प्रवाहलाई व्यवस्थित बनाउन कार्यालय समायोजन गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा सर्वसाधारणले दुःख पाउनुपरेको देखिन्छ ।