अध्यादेश ल्याउने सरकारको कदम अस्वीकार्य : पूर्णबहादुर खड्का


काठमाडौँ ।

नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले  संसद् बैठक स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि हिसाबले उचित नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले विशेष परिस्थितिमा मात्र आवश्यक विषयमा अध्यादेश ल्याउने प्रचलन स्वाभाविक भए पनि यसपटक सरकारले फरक ढंगले काम गरेको टिप्पणी गरेका हुन्। बोलाइएको संसद् बैठक नै नबसाई स्थगन गरेर अध्यादेश ल्याउनु गलत भएको उनको भनाइ छ।

खड्काले सरकारलाई अध्यादेश फिर्ता गरेर तत्काल संसद् बैठक बोलाउन र आवश्यक विषय विधेयकमार्फत संसद्बाटै पारित गराउन सुझाव दिएका छन्। विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने उनको चेतावनी छ।

खड्काले यस्तो निर्णयले सरकार, देश, जनता तथा लोकतान्त्रिक मूल्य–मान्यताको दीर्घकालीन हितमा असर पार्ने उनले जिकिर गरे ।