आईसिएफसी, क्लाउड फ्याक्ट्री र एनसेल सेमिफाइनलमा


काठमाडौं ।

टेकस्पायर कर्पोरेट टि–१० क्रिकेट प्रतियोगिताको तेस्रो दिन आईसिएफ्सी फाइनान्स, क्लाउड फ्याक्ट्री र एनसेलले आ–आफ्नो खेल जित्दै सेमिफाइनलको यात्रा तय गरेका छन् ।

मंगलवार भएको पहिलो क्वार्टरफाइनल खेलमा आईसिएफसी फाइनान्सले सिप्रडी ट्रेडिङलाई ३ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । पहिले ब्याटिङ गरेको सिप्रडीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनको बलियो योगफल खडा गरेको थियो ।

टोलीका लागि शैलेन्द्र नेपालले ४९, निराजन केसीले अविजित ३६ र युगेश न्यौपानेले ३२ रनको योगदान दिए । जवाफमा १३८ रनको चुनौतीपूर्ण लक्ष्य आईसिएफसीले ९.४ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा ग¥यो । आईसिएफसीको जितमा सुरज तिमल्सिनाले अविजित ७३ रनको विष्फोटक इनिङ्स खेलेका थिए । यो हारले सिप्रडी प्रतियोगिताबाट बाहिरियो ।

त्यसैगरी, प्रतियोगिताको दोस्रो खेलमा क्लाउड फ्याक्ट्रीले आयोजक टेकस्पायरलाई ३ विकेटले स्तब्ध पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको टेकस्पायरले १० ओभरमा ३ विकेट गुमाउँदै ६९ रनको सामान्य स्कोर बनाएको थियो । टेकस्पायरका लागि हृषभ पोखरेलले सर्वाधिक २० रन जोडे ।

७० रनको लक्ष्य पछ्याएको क्लाउड फ्याक्ट्रीले ७.५ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल ग¥यो । टोलीको जितमा चन्द्र गुरुङले सर्वाधिक १७ रन बनाए । यो पराजयसँगै आयोजक टेकस्पायर लिग चरणबाटै बाहिरियो ।

मंगलवारै सम्पन्न तेस्रो खेलमा एनसेलले सुबिसुविरुद्ध ३ विकेटको रोमाञ्चक जित दर्ता ग¥यो । पहिले ब्याटिङ गरेको सुबिसुले १० ओभरमा ४ विकेट गुमाएर ८३ रन बनाएको थियो । जसमा दमन चन्दले अविजित ३५ र विवेक कुमार यादवले १६ रन जोडे । ८४ रनको लक्ष्य पछ्याएको एनसेलका लागि समाज पौडेलले ३७ रनको आक्रामक पारी खेले ।

हार बाबजुद नेट रनरेटका आधारमा सुबिसु पनि अन्त्मि चारमा प्रवेश गर्न सफल भयो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार हुने दुवै सेमिफाइनल र फाइनल खेलमा उपाधिका लागि आईसिएफसी फाइनान्स, क्लाउड फयाक्ट्री, एनसेल र सुबिसुबीच प्रतिस्पर्धा हुनेछ ।