अब नगरपालिकाको बजेटमा इलाम गोल्डकप

हरेक वर्ष ११ लाख सहयोग

376
Shares

इलाम ।

इलाममा हुँदै आएको एनआरएनए अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकपलाई अब दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीय सरकार नै अघि सरेको छ । इलाम नगरपालिकाले प्रतियोगितालाई हरेक वर्ष आर्थिक सहयोग गर्ने औपचारिक निर्णय गरेसँगै गोल्डकपको भविष्य थप सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

इलाम गोल्डकपलाई व्यवस्थित, भव्य र दीर्घकालीन रूपमा अघि बढाउन इलाम नगरपालिकाले महत्वपूर्ण कदम चालेको छ । आगामी वर्षदेखि नगरपालिकाले हरेक वर्ष ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने गरी रेडहर्ष फुटबल क्लबसँग सम्झौता गरिएको हो । सम्झौतामा नगर प्रमुख केदार थापा र क्लबका अध्यक्ष सजितसिंह खत्रीले हस्ताक्षर गरेका छन् ।

यो सहकार्यसँगै प्रतियोगिता सञ्चालनमा स्थायित्व, पारदर्शिता र व्यवस्थापनमा थप मजबुती आउने विश्वास गरिएको छ । नियमित बजेट सुनिश्चित भएपछि उत्कृष्ट टोलीको सहभागिता बढ्ने, पुरस्कार राशिमा वृद्धि हुने र खेल पूर्वाधार सुधारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच, भर्खरै सम्पन्न तेस्रो संस्करणमा मच्छिन्द्र फुटबल क्लबले नयाँ च्याम्पियनको रूपमा उपाधि जितेको छ ।

फाइनलमा एनआरटीलाई २–० गोलले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको हो । प्रतिकूल मौसमका बीच पनि इलामको ठूलो टुँडिखेलमा हजारौँ दर्शकको उपस्थिति देखिएको थियो । आर्थिक रूपमा पनि यसपटकको गोल्डकप सफल रह्यो । प्रतियोगिताभर करिब १५ लाख रुपैयाँ गेटमनी संकलन हुँदा फाइनल खेलबाट मात्रै ८ लाखभन्दा बढी आम्दानी भएको आयोजकले जनाएको छ ।

खेल, दर्शक सहभागिता, व्यवस्थापन र आर्थिक पक्ष—चारै हिसाबले सफल बनेको यस संस्करणसँगै अब स्थानीय सरकारको साथ पाएपछि इलाम गोल्डकप अझ भव्य र दीर्घकालीन रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । स्थानीय सरकारको प्रत्यक्ष सहकार्यसँगै इलाम गोल्डकपले अब नयाँ उचाइ लिने विश्वास गरिएको छ ।