नवलपरासी।
जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन्।
जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा नारायणीपारी सुस्तागाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारी यसअघि नै पक्राउ परिसकेका छन्। उनले आफ्नो पिताको मृत्यु भएको भन्दै वडा नम्बर ५ मा अर्का ६६ वर्षीय व्यक्तिको गत वर्ष मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए।
अनुसन्धानका क्रममा मियाँका पिताको भने २०६० सालमै मृत्यु भइसकेको खुल्न आएको छ। उक्त घटना सार्वजनिक भएपछि गत वर्ष चैतमा मृत्यु दर्तामा नाम उल्लेख गरिएका वृद्धका छोराले प्रहरीमा जाहेरी दिएका थिए।
प्रहरीका अनुसार सोही घटनामा मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् भने साक्षीमा हस्ताक्षर गर्ने अन्य ७ जना फरार रहेका छन्।
इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेस गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया