काठमाडौं।
चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र मध्यम गतिमा विस्तार हुने संकेत देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यस वर्ष देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपियाँ पुग्नेछ भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अपेक्षा गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब पुगेको संशोधित तथ्यांक र त्यस वर्षको वृद्धिदर ४ प्रतिशत नजिक थियो ।
चालु वर्षमा कृषि क्षेत्रको वृद्धि कमजोर देखिएको छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत मात्रै रहने अनुमान छ, जसमा धान उत्पादनमा आएको गिरावट प्रमुख कारण मानिएको छ । यद्यपि मकै, गहुँ, दलहन र पशुजन्य उत्पादनमा सामान्य सुधार देखिएको छ । यता गैरकृषि क्षेत्र भने अपेक्षाकृत सक्रिय देखिएको छ । यस क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत रहने अनुमान गरिएको छ, जसले समग्र आर्थिक वृद्धिलाई टेवा दिएको छ ।
औद्योगिक वर्गीकरणअनुसार हेर्दा द्वितीय (उद्योग) र सेवा क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ। द्वितीय क्षेत्रको वृद्धि ५.७७ प्रतिशत र सेवा क्षेत्रको वृद्धि ४.२१ प्रतिशत रहने अनुमान गरिएको छ। प्राथमिक क्षेत्र (कृषि) भने १.६३ प्रतिशतमै सीमित रहने देखिन्छ ।
विशेषगरी विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा उच्च २०.९३ प्रतिशतको वृद्धि अनुमान गरिएको छ । नयाँ जलविद्युत् आयोजनाबाट उत्पादन थपिनु र प्रसारण संरचना विस्तार हुनु यसका मुख्य कारण हुन् । त्यस्तै वित्तीय तथा बीमा क्षेत्र पनि ९.१६ प्रतिशत वृद्धि सहित दोस्रो तीव्र गतिमा विस्तार हुने क्षेत्र बनेको छ ।
जीडीपीमा सबैभन्दा ठूलो योगदान सेवा क्षेत्रको रहनेछ, जसको हिस्सा ६१.८ प्रतिशत रहने अनुमान छ । कृषि क्षेत्रको योगदान २४.५ प्रतिशत र उद्योग क्षेत्रको १३.७ प्रतिशत रहनेछ ।
व्यापार क्षेत्रले मात्र १४ प्रतिशतभन्दा बढी योगदान दिने देखिएको छ भने यातायात, सूचना प्रविधि, वित्तीय सेवा लगायत क्षेत्रमा पनि सकारात्मक विस्तार देखिएको छ ।
यस अवधिमा निर्माण क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन । पूँजीगत खर्च कमजोर रहँदा यस क्षेत्रको वृद्धि २.२१ प्रतिशतमै सीमित रहने अनुमान गरिएको छ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा समेत अत्यन्त न्यून ०.२३ प्रतिशत मात्रै वृद्धि हुने देखिएको छ।
चालु वर्षमा वस्तु तथा सेवा निर्यात जीडीपीको करिब १० प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षभन्दा सुधार हो। तर आयात अझै उच्च रहँदै जीडीपीको ३४.५२ प्रतिशत पुग्ने देखिएको छ ।
वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण उल्लेख्य रूपमा बढ्दै जीडीपीको ३३ प्रतिशत नजिक पुग्ने अनुमान छ । यसले राष्ट्रिय बचत दरलाई पनि ४४.७७ प्रतिशतसम्म उकास्ने देखिएको छ ।
डलरको विनिमय दरमा भएको उतारचढावका कारण प्रतिव्यक्ति आयमा ठूलो सुधार देखिएको छैन । चालु वर्षमा प्रतिव्यक्ति जीडीपी १ हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा सामान्य गिरावट हो ।











प्रतिक्रिया