काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई थुनामा राखिएको विषयमा सर्वोच्च अदालतले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
सोमबार गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन्। सोही रिटमाथि मंगलबार भएको सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारण खुलाउने लिखित जवाफसहित २४ घण्टाभित्र गोल्छालाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
यसअघि काठमाडौं जिल्ला अदालतले सोमबार नै गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। न्यायाधीश दण्डपाणि लामिछाने को इजलासले उक्त थुनाम्याद स्वीकृत गरेको हो।
गोल्छालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार (वैशाख १०) नियन्त्रणमा लिएको थियो र हाल सोही प्रकरणमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतको आदेशसँगै अब गोल्छाको पक्राउ र थुनाको वैधतामाथि कानुनी बहस थप चर्किने देखिएको छ।











प्रतिक्रिया