लन्डन, (एजेन्सी) ।
केन्याका सेबास्टियन सावेले पुरुषको म्याराथन दौड २ घण्टाभन्दा कम समयमा पूरा गर्दै विश्व कीर्तिमान राखेका छन् । उनी २ घण्टाभन्दा कम समयमा म्याराथन दौड (४२.१९५ किलोमिटरको दूरी) पूरा गर्ने विश्वका पहिलो धावकसमेत बने ।
विश्व एथ्लेटिक्सअन्तर्गत् लन्डन म्याराथनमा ३१ वर्षीय सावेले १ घण्टा ५९ मिनेट ३० सेकेण्डमा दौड पूरा गरेका हुन् । यसै लण्डन म्याराथनमा डेब्यु गरेका इथियोपियाका योमिफ केजेल्चा दोस्रो स्थानमा रहे ।
केजेल्चा २ घण्टाभित्र दौड पूरा गर्ने विश्वका दोस्रो धावक बनेका छन् । उनले दौड पूरा गर्ने क्रममा १ घण्टा ५९ मिनेट ४१ सेकेण्डको समय निकालेका थिए । उनी पहिलो भएका सावेभन्दा ११ सेकेण्डले मात्रै पछि परेका थिए । यस्तै, तेस्रो स्थानमा रहेका युगान्डाका ज्याकब किप्लीमोले २ घण्टा २८ सेकेण्डको समय निर्धारण गरेका थिए ।
यससँगैं दिवंगत केन्याका महान धावक केल्भिन किप्टमको विश्व रेकर्ड तीन धावकले एकैचोटि तोडे । गत अक्टोबर २०२३ मा शिकागो म्याराथनमा किप्टमले २ घण्टा ३५ सेकेण्डको विश्व रेकर्ड कायम गरेका थिए । सन् २०२४ उनको कार दुर्घटनामा २४ वर्षको उमेरमा निधन भएको थियो ।
कीर्तिमान राखेपछि सावेले बताए–“हामीले दौड राम्रोसँग सुरु ग¥यौं । दौड समाप्त गर्ने नजिक पुग्दा, म बलियो महसुस गरिरहेको थिएँ । अन्ततः अन्तिम रेखामा पुगेपछि, मैले समय देखेँ र म धेरै उत्साहित भएँ ।“
किपचोगेको रेकर्ड दर्ता गरिएन
त्यसो त महान धावक एलियुड किपचोगे २ घण्टाभन्दा कम समयमा म्याराथन दौडने पहिलो धावक बनेका थिए । तर, यो आधिकारिक रूपमा रेकर्ड गरिएको थिएन । भिएना पार्कमा २०१९ अक्टोबरमा भएको म्याराथन दौडमा उनले १ घण्टा ५९ मिनेट ४० सेकेण्डको समय निकालेका थिए । विश्व एथ्लेटिक्सले यसलाई खुल्ला प्रतिस्पर्धाको मान्यता नदिएपछि किपचोगेको त्यो समयलाई विश्व रेकर्डमा दर्ता गरिएन ।
असेफाको कीर्तिमानमा सुधार
लन्डन म्याराथनको महिला दौडमा इथियोपियाकी टिग्स्ट असेफाले आफ्नै विश्व कीर्तिमानमा सुधार गरेकी छन् । उनले २ घण्टा १५ मिनेट ४१ सेकेण्डको समय निकाल्दै उपाधि रक्षासमेत गरिन् । उनले गत संस्करणमा २ घण्टा १५ मिनेट ५० सेकेण्ड समयका साथ उपाधि जितेकी थिइन् । दोस्रो र तेस्रो स्थानमा क्रमशः हेलेन ओबिरी (२ घण्टा १५ मिनेट ५३ सेकेण्ड) र जोयसिलिन जेप्कोसगेई (२ घण्टा १५ मिनेट ५५ सेकेण्ड) रहे । दुबै केन्याका धाविकाहरू हुन् ।
पुरुषको म्याराथनमा विश्व रेकर्ड (२००३ देखि)
समय धावक (राष्ट्र) स्थान समय
२ः०४ः५५ पाउल टेर्गाट (केन्या) बर्लिन २८ सेप्टेम्बर २००३
२ः०४ः२६ हेइले गेबर्सेलासी (इथियोपिया) बर्लिन ३० सेप्टेम्बर २००७
२ः०३ः५९ हेइले गेबर्सेलासी (इथियोपिया) बर्लिन २८ सेप्टेम्बर २००८
२ः०३ः३८ प्याट्रिक मकाउ (केन्या) बर्लिन २५ सेप्टेम्बर २०११
२ः०३ः२३ विल्सन किपसान्ग (केन्या) बर्लिन २९ सेप्टेम्बर २०१३
२ः०२ः५७ डेनिस किमेटो (केन्या) बर्लिन २८ सेप्टेम्बर २०१४
२ः०१ः३९ इलिउड किपचोगे (केन्या) बर्लिन १६ सेप्टेम्बर २०१८
२ः०१ः०९ इलिउड किपचोगे (केन्या) बर्लिन २५ सेप्टेम्बर २०२२
२ः००ः३५ केल्भिन किप्टम (केन्या) शिकागो ८ अक्टोबर २०२३
१ः५९ः३० सेबास्टियन सावे (केन्या) लन्डन २६ अप्रिल २०२६











प्रतिक्रिया